Tuesday, November 7, 2017

चीन सरकारले चक्रपथको बाँकी भाग पनि निर्माण गर्ने, चिनियाँ टोली काठमाडौं आउँदै

कोटेश्वर–कलंकी सडक निर्माणमा जुटेको चीन सरकारले अब चक्रपथको बाँकी भाग पनि निर्माण गर्ने भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोली यही साता काठमाडौं आउने भएको छ ।
सडक विभागअन्तर्गतको वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चक्रपथको बाँकी खण्ड निर्माणका लागि अध्ययन गर्न करिब ५ जनाको चिनियाँ प्राविधिक टोली काठमाडौं आउँदैछ । ‘चीन सरकार चक्रपथको बाँकी खण्ड निर्माण गर्न उत्सुक छ,’ उनले भने, ‘४ देखि ५ जनाको टोली यही साताभित्र काठमाडौं आउनेछ र सडकको अध्ययन गर्नेछ ।’
चीन सरकारको करिब ५ अर्ब रुपैयाँ अनुदानमा चक्रपथको कोटेश्वर–कलंकीसम्मको १० किमि सडकखण्ड दु्रत गतिमा निर्माण भइरहेको छ । बाँकी रहेको १७ किमि सडकखण्ड निर्माण गर्न पनि चीन सरकार नै उत्सुक देखिएको छ । अध्ययनका लागि आउने विज्ञ टोलीले बाँकी रहेको सोही खण्ड अध्ययन गर्नेछ । सडकको सम्भाव्य नक्सा बनाउनेछ र अनुमानित लागत रकम निकाल्नेछ । सोही आधारमा चीनले सडक निर्माणका लागि ऋण या अनुदानमध्ये के दिन सकिन्छ त्यसको टुंगो लगाउनेछ ।
‘चीन सरकारकै अनुदानमा कोटेश्वर–कलंकी सडक बन्दै छ । बाँकी भाग पनि उनीहरूले नै बनाउने भनेका छन्,’ महाशाखा प्रमुख श्रेष्ठले भने, ‘टोलीले सडक कस्तो बनाउने ? कति खर्च लाग्ने ? लगायतका विषय अध्ययन गरी पत्ता लगाउनेछ । चीन सरकारले त्यसपछिको विषय टुंग्याउनेछ ।’
महाशाखाका अनुसार अध्ययन टोलीको प्रतिवेदनलगत्तै चक्रपथको बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन हुन्छ । कोटेश्वर–कलंकी खण्डको निर्माणकार्य पूरा हुँदासम्म बाँकी खण्डको डिपिआर तयार भइसक्नेछ । डिपिआर पास भएलगत्तै निर्माणकार्य अघि बढ्नेछ । महाशाखा प्रमुख श्रेष्ठले कोटेश्वर–कलंकी खण्डको काम पूरा भएसँगै बाँकी खण्डको काम सुरु हुने बताए ।

युवा स्वरोजगार कोषको अनियमित वितरणले वेरोजगार युवा समस्यामा



युवा स्वरोजगार कोष वेरोजगार युवाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । तर, यतिवेला यो कार्यक्रमको चरम दुरुपयोग हुन थालेको छ । अझ निर्वाचनको मुखमा त झन् दुरुपयोगको सिमै छैन । यस्तै चरम दुरुपयोग भएको छ, अछाममा । दलका स्थानीय नेता–कार्यकर्ता, पत्रकार, बैँक तथा सहकारी र उनीहरूले पत्याएका साना–ठूला व्यापारीको हितमा कोषको रकम प्रयोग गरेको पाइएको हो ।
अछाममा स्वरोजगारका लागि ७४ जनालाई १ लाख देखि २ लाख सम्म वितरण गरिएको थियो । कृषि विकास बैंक मार्फत मात्रै अछाममा १ करोड लगानी भएको पाइएको छ । युवा स्वरोजगारका लागि ऋण लिने ७४ मध्ये ८ ऋणीले मात्र नियमित रुपमा ब्याज बुझाउने गरेको देखिएको छ । ६६ ऋणी बैँकको सम्र्पकमा नआएको कृषि विकास बैँकका निमित्त प्रबन्ध केशव साउदले जानकारी दिनुभयो । बाइटः केशब
यता बेरोजगार रहेका युवाहरुले भने पहुँच भएकाले मात्र स्वरोजगारको रकम पाएको गुनासो गरेका छन् । उनीहरुले कोषको दुरुपयोग भएको आरोप समेत लगाएका छन् ।
अछाममा विपन्न र बेरोजगारलाई अवसर दिन गठन भएको स्वरोजगार कोषबाट ऋण पाउनेहरू सबैजसो हुनेखाने र पहुँचवाला छन् । बेरोजगार तथा विपन्न युवालाई स्वरोजगार बनाउन गठन भएको स्वरोजगार कोषमा सम्पन्नताको हाली मुहाली भएको स्थानीय युवाको भनाई छ ।
२०६५ सालमा तत्कालिन सरकारले बेरोजगार युवालाई विना धितो सस्तो ब्याजदरमा २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष २०६५’ कार्यक्रम घोषणा गरेको थियो । तर अहिले युवालाई दिएको रकम फिर्ता नहुँदा बैकलाई समस्या भएको छ ।
बैंकमा युवाहरुले लगेको रकमको ब्याज पनि बुझाउन नआउदा बैंकले प्रशासन मार्फत असुल उपर गर्ने मनस्थितीमा पुगेका छन् । तर, पहुँचवाला र राजनीतिक संरक्षण प्राप्त गरेकाले ऋण लगेपछि समस्या भएको बताइएको छ ।