Monday, October 9, 2017

‘भागवत गीता’ कि ‘ए मेरो हजुर ३’, झरनाले कुन पहिला बनाउलिन् ?

यो बर्षको सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’की निर्देशक झरना थापाले नयाँ चलचित्र निर्देशनको तयारी थालेकी छिन् । तर, झरनाले दुइ कथावस्तु मध्ये कुन चलचित्र पहिले बनाउने भन्ने दोधारमा रहेको बताएकी छिन् ।
‘चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि, वितरक तथा दर्शकबाट यसकै तेश्रो भाग बनाउने सल्लाहा आएको छ । यसैले यो चलचित्र निर्देशनको तयारी पनि गरिरहेको छु ।’, झरनाले भनिन् ।
तर, झरनासँग चलचित्र ‘भागवत गीता’को कथावस्तु भने तयारी अवस्थामा छ । यो चलचित्रको कथा पनि हरिहर अधिकारीले नै लेखेका हुन् । झरनाले भनिन्-‘भागवत गीता लभ स्टोरी चलचित्र हो । भागवत नाम गरेका केटा र गीता नाम गरेकी केटीको रमाइलो प्रेम कथालाइ चलचित्रमा उठाउनेछौ ।’
आफू अहिले नै कुन चलचित्र पहिले बनाउने भन्नेमा पक्का नभएको झरनाको भनाइ छ । ‘तर, धेरैको सल्लाहा ‘ए मेरो हजुर ३’ निर्माण गर्नुपर्छ भन्ने भएकाले यसको निर्माण चाडो हुनसक्छ’, झरना भन्छिन् । तर, झरनाले दुबै चलचित्रको निर्माण भने एसके थापा प्रोडक्शनबाट नै हुने जानकारी दिइन् ।
चलचित्रका कलाकार भने पक्का भएका छैनन् । तर, दुइ कथामा जुन पहिले बनेपनि चलचित्र ‘ए मेरो हजुर २’कै नायक सलिनमान बनियाँ दोहोरिने संभावना प्रबल छ । तर, अहिले नै यो कुरा फाइनल भने भैसकेको छैन ।

रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ

२३ असोज, भैरहवा । रुपन्देहीमा पूर्वी क्षेत्र रोहणी गाउँपालिकामा ठूलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको ओमसतिया गाँउपालिका-६ का ३६ वर्षीय गुलाबचन्द सहानी, रोहीणी गाँउपालिका-७ टिकरका ४१ वर्षीय राधेश्याम यादव, जिल्ला कास्की पोखरा लेखनाथ नगरपालिका-३ का २८ वर्षीय अन्तिम गुरुङ र जिल्ला तनहुँ व्यास नगरपािलका १ का २२ वर्षीय अन्जु गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरु रामनगरको सडक किनारमा शंकस्पद रुपमा उभिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुले प्रयोग गरेको लु २८ प १२६१ नं.को मोटरसाइकलको लेग गार्डमा प्लाष्टिकमा लुकाई राखेको लागुऔषध डाईजेपाम, फेनर्गन र नुफिर्न ७५/७५ सीसी गरी २२५ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवंम प्रवक्ता डिल्ली नारायण पाण्डेले बताए ।
उनका अनुसार पक्राउ परेका अन्तिम गुरुङको साथबाट नगद १७ हजार रुपैयाँ तथा अन्जु गुरुङको साथबाट ३ हजार रुपैयाँ बरामद भएको छ ।
उनीहरुले आफूहरुले राधेश्याम यादव मार्फत लागुऔषध खरिद गरेको प्रराम्भिक बयान दिएपछि प्रहरीले यादवलाई पनि नियन्त्रणमा लिएको बताएको छ ।
भारतबाट लागुऔषध खरिद गरी घरमा संचय गरी विक्री वितरण गर्ने यादवकोे घरमा प्रहरीले खानतलासी गर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा थप लागुऔषध डाईजेपाम, फेनरागन र नुफिर्न क्रमशः ६२५ सीसी गरी कुल एक हजार ८७५ थान एम्पुल बरामद भएको डीएसपी पाण्डेले बताए ।
यस्तै यादवको कोठाबाट टिनको बाकसमाथि प्लाष्टिकको टोकरीमा विभिन्न दरको नोटहरु नेपाली १ लाख रुपैयाँ र यादवको शरीर खानतलासी गर्दा उनको साथबाट ३८ हजार रुपैयाँ बरामद भएको पाण्डेले बताए ।
शहरी भागमा प्रहरीको बिभिन्न दस्ताहरुको बढ्दो निगरानी र ग्रामीण क्षेत्रहरुमा रहेको खुल्ला सीमाको फाईदा उठाउदै यस्तो कारोबार ग्रामीण क्षेत्रमा बढ्दै गएको छ ।

नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत

२३ असोज, काठमाडौं । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो समयसम्म स्वीकृत भएन ।
राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।
गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले पनि सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरे ।

‘मैना’ निर्देशकका दुःख : सेन्सर पास गराउन प्रचण्डलाई प्रमुख अतिथि

काठमाडौं । ०६२/६३ को आन्दोलनमा कवि, कलाकार, लेखक, फिल्मकर्मीलगायत सर्जक सरिक भए । कविले सडकमै जनताको पक्षमा कविता वाचन गरे भने, नाट्यकर्मीहरुले सडकमै नाटक मञ्चन गरे ।
केपी पाठक, श्याम सापकोटालगायत चलचित्रकर्मी थिए, सडकमै निस्किएका थिए । ‘हामी जतिखेर लोकतान्त्रिक आन्दोलनमा थियौं, त्यतिबेलै बहस भएको थियो सिनेमामा पनि अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ,’ पाठक भन्छन् ‘नेपाली सिनेमाले आफ्नै पहिचान स्थापना गर्नुपर्छ भनेर हामीले बहस सुरु गरेका थियौं ।’
आन्दोलन सकियो । राजनीतिक दलहरु संविधानसभा निर्वाचनको तयारीमा जुटे । कवि, कलाकार, लेखकको फेरि पुरानै जीवनचक्र सुरु भयो । मौलिक सिनेमाको वकालत गरेका पाठक कस्सिए, त्यस्तै चलचित्र निर्माण गर्न ।
मौलिक फिल्म त बनाउने तर कुन विषयमा ? विषय धेरै थिए । तर, कुन छान्ने ? विषय छनोट गाह्रो थियो । एकल महिलाको विषयमा ‘रिसर्च’ गर्दै थिए । एउटा दैनिक पत्रिकामा सेनाद्वारा मारिएकी मैना सुनारकी आमा देवी रुँदै गरेको तस्बिर छापियो । त्यही तस्बिरले उनको ध्यान तान्यो ।
मुलुकमा लोकतन्त्र त आयो । तर, मान्छेका आँखाबाट आँशु र्झन रोकिएका छैनन् । मैनाकी आमा देवी छोरीका हत्यारालाई कारवाही गराउन विभिन्न संघसंस्था धाउँदै थिइन् । तर, अहिलेसम्म पनि कारवाही भएको छैन । यही विषयमा फिल्म बनाउँदा किन हुँदैन ? गल्ति गर्नेलाई कारवाही हुनुपर्छ । तर, भएको छैन । मैनाकै विषयमा फिल्म बनाउने निधो गरे, पाठकले ।
उनको परिवारसँग पाठकको चिनजान थिएन । अधिकारकर्मी मन्दिरा शर्माको सहयोग लिए । वसन्तपुरको गल्लीभित्र सानो कोठामा बस्थिन्, देवी । ‘हामी तपाईंकी छोरीको हत्याको विषयमा फिल्म बनाउँदै छौं,’ उनले भेटेर भने ।
उनको कुरा सुनेर देवीका गह आँशुले भरिए । अनपत्यारिलो शैलीमा भनिन्, ‘तपाईं यो विषयमा फिल्म बनाउन सक्नु होला र ? तपाईं आँट्न सक्नुहुन्छ ?’
देवीको कुरा सुनेपछि पाठकमा जसरी पनि फिल्म बनाउने आँट पलायो । त्यही भेटमा देवीले भनेकी थिइन्, ‘यो त सेनासँग जोडिएको विषय हो । सेनाको बारेमा बोल्न राज्य त डराउँछ । तपाईं कसरी काम गर्नुहुन्छ ?’
उनीसँग विदा हुँदै पाठकले भनेका थिए, ‘हामी रिसर्च गर्छौं र फिल्म बनाउछौं ।’
रिसर्चको सुरुवात काभ्रेको खरेलथोकबाट सुरु भयो । त्यसबारे पत्रपत्रिकामा समाचार आउन थाल्यो ।
आफन्तले नै दिए धम्की
रिसर्च गरे । स्क्रिप्ट तयार भयो तर मैना भेटिइनन् । खोज्नकै लागि भनेर विद्यालयस्तरीय नाटक हेर्नेदेखि डान्स सेन्टर चहार्ने कामसमेत भयो । पाठक सम्भिmन्छन्, ‘मैनाजस्तै जिउडाल भएकी नायिका भेट्न निकै सकस पर्‍यो ।’
निर्माण समूह मैनाको खोजीमा थियो । फोनका घण्टी र त्यसपछि आउने धम्की सह्य हुने प्रकृतिका थिएनन् । उताबाट भनिन्थ्यो, ‘तपाईंलाई मैनामाथि नै किन फिल्म बनाउनुपर्ने ? विषय त अरु पनि छन् नि । सेनासँग किन निहुँ खोजेको ?’
कहिल्यै फोन नगर्ने आफन्तले समेत फोन गरेर भन्न थाले, ‘यस्तो जोखिम नमोल्नुस् ।’ उनका एक आफन्त मानव अधिकारको क्षेत्रमा काम गर्थे । उनको फोनको घण्टी बज्दा पाठकलाई लागेको थियो, ‘एक जना भए पनि सहयोगी भेटियो ।’
फिल्म सुपर फ्लप भयो, निर्माताले २६ लाख डुबाए, सम्मान गर्न बोलाउँदा पनि पैसा मागियो
उल्टै ती आफन्तले भने, ‘म तपार्इको फिल्मको सन्दर्भमा कुनै पनि सहयोग गर्न सक्दिनँ । यस्तो विषयमा फिल्म बनाएपछि बाटोमा हिँड्दै गर्दा कसैले मारिदिन सक्छ । अनावश्यक जोखिम नलिनु ।’
फिल्म नबनाउन व्यापक दबाब आउन थालेपछि उनलाई भने जसरी पनि बनाउनैपर्ने दाइत्वबोध भयो । मैना बन्न लाग्दा धेरैले अनुमान गरे, ‘यो फिल्म त सेनाको विरुद्धमा बन्दैछ ।’
पाठक ती मान्छेलाई जवाफ दिन्थे, ‘मैले सेनाको पक्ष वा विपक्षमा फिल्म बनाउन लागेको होइन । एउटा पीडितको आवाज हो यो ।’ फिल्म निर्माण क्रममा उनले मैनाकी आमा देवीको पुरै सहयोग पाए ।
सेन्सर पास गराउन प्रचण्डलाई अतिथि
फिल्म तयार भएपछि हलमा रिलिज गर्न सेन्सर बोर्डबाट पास गर्नुपर्ने नियम छ । पाठकलाई आफ्नो फिल्म सेन्सरले पास नगर्देला भन्ने ठूलो चिन्ता थियो । किनकि, ‘केपी पाठकले सेनाको विरुद्धमा फिल्म बनाए’ भनेर व्यापक हल्ला भइसकेको थियो । सेनाविरुद्धको फिल्म सेन्सरले पास गर्ने सम्भावना कमै थियो ।
पास त गराउनै पर्‍यो । जुक्ति लगाए । फिल्म सेन्सरको लागि पठाएपछि पि्रमियर सोको मिति तोकेर कार्ड बाँड्न सुरु भयो । प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड । त्यही कार्ड सेन्सर बोर्डका अधिकारीलाई पनि दिए ।
कार्ड बाँडिसकेपछि सेन्सर बोर्डमा गएर भने, ‘प्रधानमन्त्री आउने पक्का भयो । मेरो फिल्म कहिले सेन्सर हुन्छ ?’ नभन्दै, भोलिपल्टै सेन्सरबोर्डले फिल्म पास भएको प्रमाणपत्र दियो । तर, कार्यक्रममा प्रधानमन्त्री आएनन् । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरालाई पठाए । महराले पनि पुरा फिल्म हेरेनन्, मध्यान्तरमै हिँडे ।
घर बनाइदिनुपर्ने सर्त
फिल्मको पि्रमियर सोको तयारी हुँदै थियो । देवीले फोन गरिन्, ‘पाठकजी एक पटक भेट्नु पर्‍यो ।’ निर्माता जीवनाथ सुवेदी र तेजनारायण सापकोटालाई लिएर पाठक देवीलाई भेट्न पुगे । ‘हामीले काभ्रेमा जग्गा पाएका छौं, तपाईंहरुले घर बनाइदिनु पर्‍यो,’ देवीले भनिन् ।
पाठक झसंग भए । घर बनाउने विषयमा कुनै छलफलै भएको थिएन । फिल्मले कमाएको नाफाको पाँच प्रतिशत देवीको परिवारलाई दिने सहमति भएको थियो । ‘हामीले तपाईंलाई अधिकार दिलाउन र मैनाका हत्यारालाई कारवाहीका लागि फिल्म बनाएका हौं । घर बनाइदिन सक्दैनौं,’ पाठक रिसाए ।
देवी पनि डगिनन्, ‘यदि घर बनाइदिनु भएन भने हामी फिल्म रोकिदिन्छौं ।’ निर्माताहरु तीनै जनाले छलफल गरेर भने, ‘ठीकै छ, त्यसो भए रोकिदिनुस् । फिल्म रोकियो भने हाम्रो पनि ज्यान खतरामा हुँदैन ।’ फिल्म रिलिज भएमा जे पनि हुनसक्ने बताउँदै मैनाको टिमलाई धम्की आउने क्रम जारी थियो ।
अन्तिममा फेरि अर्को सहमति भयो, ‘काभ्रेभित्र फिल्मले गरेको सम्पूर्ण आम्दानी देवीको परिवारलाई दिने ।’ देवीले सहमति जनाइन् ।
विप्लवले थर्काए
पाठकले सोचेका थिए, मैनाजस्तो भर्जिन विषयमा फिल्म बनाएपछि राजनीतिक दल, विद्यार्थी संगठन, अधिकारवादीलगायतको व्यापक सहयोग पाइन्छ । तर, भयो उल्टो ।
सेनाले माओवादीको फिल्म भन्यो, माओवादीले सेनाको । तत्कालीन माओवादी नेता विप्लवले थर्काउँदै भने, ‘पाठकजी तपाईंले के गर्‍या ? जनमुक्ति सेना र शाही सेनालाई एकै ठाउँमा राखेर फिल्म बनाउन मिल्छ ? यो फिल्म कसको लागि ?’
विप्लवको आशय थियो, फिल्म माओवादी लाइनको हुनु पथ्र्यो, सेनाको उछित्तो काढिएको ।’
पाठकले जवाफ दिए, ‘तपाईंले भन्याजस्तो फिल्म बनाउन त तपाईंहरु आफैंले लगानी गर्नुपर्छ अनि मात्रै बन्छ । यो फिल्म एउटा पीडित पात्रको पक्षमा हो, सेना वा माओवादीको विपक्षमा होइन ।’
प्रचारप्रसार गरिदिने सर्तमा रिलिज
फिल्म रिलिज हुने बेलासम्म निर्माता टाट पल्टिसकेका थिए । बनेको लामो समयसम्म फिल्म रिलिज नहुँदा तीनै जना पार्टनर तीनतिर थिए । तीनै जना निर्मातालाई फिल्म डुब्यो भन्ने परिसकेको थियो । त्यसकारण एकअर्कासँग बोलचाल गर्न पनि जाँगर लगाउँदैनथे ।
जसरी पनि फिल्म रिलिज त गर्नै पर्‍यो । तत्कालीन वितरक प्रदीप उदयलाई मुलुकभर रिलिजको जिम्मा दिए । पोस्टर र प्रचारमा लाग्ने खर्च पाँच लाख तत्कालै खर्च गर्ने सर्त थियो ।
मैना हलमा त लाग्यो तर दर्शकले हेर्ने जाँगर चलाएनन् । उदयसँग पाठकको भेट भयो । पाठकले भने, ‘हाम्रो फिल्मको हिसाब गर्नुपर्ने ।’ उदयले जवाफ दिए, ‘मैले लगानी गरेको पाँच लाखै उठेको छैन ।’ त्यसपछि फेरि यसबारे कुरा भएन ।
पैसा माग्दै सम्मान गर्ने निम्तो
स्वदेशमा मात्रै होइन, विदेशमा पनि ‘मैना’ले राम्रो आम्दानी गर्न सकेन । माओवादीआवद्ध केही शुभचिन्तकले विदेशमा फिल्म प्रदर्शनका लागि निम्तो दिए तर आर्थिक रुपले बलियो बनाउन सकेनन् । ‘जाने आउने खर्च उठ्यो । आम्दानी भएन,’ पाठक भन्छन् ।
यही फिल्म देखाउने शीर्षकमा दुई पटक युरोप टुर गरेपछि काठमाडौंमा हल्ला चल्यो, ‘मैनाले व्यापक पैसा कमाएको छ ।’ पाठक अफिसमा काम गर्दै थिए । एउटा अधिकारवादी संस्थाबाट फोन आयो, ‘तपाईंलाई सम्मान गर्ने योजना बनाएका छौं, आउनु पर्‍यो ।’
उनले सोचे, राम्रै काम गरेको रहेछु, फिल्म नचले पनि सम्मान पाइने भयो ।
कार्यक्रमस्थलमा कानुन व्यवसायी दिनेश त्रिपाठी, पत्रकार कनकमणि दिक्षित, देवी सुनुवारलगायत थिए । एकछिनको कुराकानीपछि उनले थाहा पाए । खासमा, उनलाई सम्मान गर्न होइन, पैसा माग्न बोलाइएको रहेछ ।
‘देश-विदेश घुमेर प्रसस्त कमाउनु भएको छ रे । हामीलाई पनि हिस्सा दिनु पर्‍यो,’ देवीले भनिन् । फिल्मले कमाइ गर्न नसकेपछि निर्माता साथीसँग बोलचाल बन्द भएको पीडा छँदै थियो, धेरै कमाएको कुरा सुनेपछि उनी झोंक्किए ।
‘तपाईंलाई हामीले नाफाको पाँच प्रतिशत दिने सहमति गरेका छौं । घाटाको पाँच प्रतिशत बेहोर्न तयार हुनुस् ।’ देवीले बजारमा सुनेको कुरा गरिन् । दिक्षित र त्रिपाठीले उनीहरुको कुरा सुने मात्रै, केही बोलेनन् । दिक्षितलाई साक्षी राख्दै पाठकले विदेशमा फिल्म प्रदर्शन गरेका संस्थाको नम्बर दिएर आम्दानी खर्चबारे बुझ्न आग्रह गर्दै हिँडे ।
‘म डुबे पनि पीडितले न्याय पाउन्’
मैना सुनार हत्याकाण्ड एक्लो घटना होइन । यस्ता धेरै घटना छन्, जहाँ पीडित र पीडकलाई राज्यले चिनेको छ तर कारवाही गर्दैन ।
पीडितलाई न्याय दिन पहल होस् भन्दै फिल्म बनाएका पाठक ‘मैना’ शीर्षकमा तीन जनाको २६ लाख डुबेको हिसाब देखाउँछन् । ‘फिल्म त डुब्यो, डुब्यो । पीडितले न्याय पाए अलिकति सन्तुष्टि मिल्थ्यो,’ उनले कुराकानीको बिट मारे ।

इनास अवार्डमा प्रियंका, स्वस्तिमा र श्रृजनाको भिडन्त(पूर्ण सूचिसहित)

असोज २७ गते आयोजना हुन लागेको ‘पाँचौ इनास अवार्ड’का लागि नोमिनेशनमा पर्न सफल २० विधामा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नामसार्वजनिक गरिएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा २० विधामा उत्कृष्ट ३ मा पर्न सफल चलचित्रकर्मी र चलचित्रको नाम सार्वजनिक गरिएको हो । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवाल, इनासका संस्थापक रमेश त्वयना, अन्तरा इन्टरनेशनलका प्रमुख सुदिप रेग्मी पत्रकार सम्मेलनमा उपस्थित थिए ।
एनआरएनको सम्मेलनको एक दिन अगाडि आयोजना हुने अवार्ड समारोह काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना हुनेछ । अवार्डमा इनासका विभिन्न ६५ वटा देशका कार्यसमितीका सदस्यहरु सहभागी हुनेछन् ।
यो बर्षको ‘इनास अवार्ड’मा ‘छक्का पन्जा, जात्रा, पूरानो डुंगा’ लगायतका चलचित्रको नै वर्चस्व देखिएको छ । कार्यक्रममा बोल्दै इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालले यो अवार्ड आफूहरुले नेपाली चलचित्रको विकास र विश्वभर प्रवद्र्धनका लागि गर्न लागेको बताए । यसअगाडि, इनास अवार्ड जर्मनी, नेदरल्याण्ड, नेपाल र भारतको सिक्किममा आयोजना भैसकेको छ । बडुवालले अवार्ड आयोजना गरेर आफूहरुलाई व्यक्तिगत रुपमा चर्चित बन्नु नरहेको समेत सुनाए । यस्तै, इनासका संस्थापक रमेश त्वयनाले इनासको स्थापनाको बिषयमा चर्चा गरेका थिए ।
यो अवार्डको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएका अन्तरा इन्टरनेशनलका प्रमुख सुदिप रेग्मीले भव्य र सव्य रुपमा अवार्ड आयोजना गर्नु नै आफूहरुको उद्देश्य भएको सुनाए । गतबर्ष, अन्तराले नै भारतको सिक्किममा ‘चौथो इनास अवार्ड’को आयोजना गरेको थियो । अवार्ड समारोहमा विभिन्न चलचित्रकर्मी, संगीत क्षेत्रमा श्रष्टा र चलचित्र पत्रकारिता सक्रिय पत्रकारहरुलाइ सम्मान गर्ने सुदिपले जानकारी दिए । इनास अवार्डको २० विधामा पर्न सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छः
१. उत्कृष्ट फिल्म
छक्का पन्जा
जात्रा
डाइङ क्यान्डल
२. उत्कृष्ट निर्देशक
विक्रम विक्रमः मिलन चाम्स
जात्राः प्रदिप भट्टराइ
छक्का पन्जाः दीपाश्री निरौला
३. उत्कृष्ट नायक
विपिन कार्कीः जात्रा
दयाहाङ राइः विर विक्रम
दीपकराज गिरीः छक्का पन्जा
४. उत्कृष्ट नायिका
श्रृजना सुब्बाः डाइङ क्यान्डल
स्वस्तिमा खड्काः लभ लभ लभ
प्रियंका कार्कीः छक्का पन्जा
५. उत्कृष्ट सह– अभिनेत्री
बर्षा राउतः छक्का पन्जा
मेनुका प्रधानः पुरानो डुङ्गा
प्रमिता आरएल राणाः चपली हाइट २
६. उत्कृष्ट सह–अभिनेता
सरोज खनालः म यस्तो गीत गाउँछु
माओत्से गुरुङः पुरानो डुङ्गा
अनिता खड्काः घामपानी
७. नव– निर्देशक
दीपेन्द्र लामाः घामपानी
दीपाश्री निरौलाः छक्का पन्जा
प्रदिप भट्टराइः जात्रा
८. उत्कृष्ट नव–नायक
सुरज पाण्डेः लभ लभ लभ
आयुष्मान देशराज जोशीः चपली हाइट २
पृथ्वीराज प्रसाइः किस्मत २
९. उत्कृष्ट नव– नायिका
दीया पुनः विर विक्रम
नम्रता श्रेष्ठः गाँठो
ज्योत्सना योगीः म त तिम्रै हुँ
१०. उत्कृष्ट खलपात्र
सौगात मल्लः लूट २
अर्पण थापाः विर विक्रम
कामेश्वर चौरासियाः पलाँस
११. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरेः छक्का पन्जा
राजाराम पौडेलः म यस्तो गीत गाउँछु
विपिन कार्कीः लूट २
१२. उत्कृष्ट लेखक–पटकथा
दीपकराज गिरीः छक्का पन्जा
दीपेन्द्र लामाः घामपानी
नरेश केसीः डाइङ क्यान्डल
१३. उत्कृष्ट सम्पादक
सुरेन्द्र  पौडेलः लूट २
विपिन मल्लः छक्का पन्जा
मित्र गुरुङः जात्रा
१४. उत्कृष्ट छायांकार
पुरुषोत्तम प्रधानः छक्का पन्जा
दीपांकर सिग्देल र रोविन आचार्यः डाइङ क्यान्डल
पुरुषोत्तम प्रधानः लूट २
१५. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेलः भन्छु आज(म यस्तो गीत गाउँछु)
राजनराज सिवाकोटीः पूर्व पश्चिम रेल(छक्का पन्जा)
कालिप्रसाद बाँस्कोटाः निर जहिले रिसाउने(पुरानो डुङ्गा)
१६. उत्कृष्ट गीतकार
दयाराम पाण्डेः पलाँस
किरण खरेलः किस्मत २
शान्तिप्रियः छक्का पन्जा
१७. उत्कृष्ट गायक
ताराप्रकाश लिम्बुः विर विक्रम
कालिप्रसाद बास्कोटाः पुरानो डुङ्गा
सुगम पोखरेलः म यस्तो गीत गाउँछु
१८. उत्कृष्ट गायिका
अन्जु पन्तः छक्का पन्जा
अन्जु पन्तः छक्का पन्जा
मिना निरौलाः लूट २
१९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराजः छक्का पन्जा
कविराज गहतराजः म यस्तो गीत गाउँछु
विक्रम स्वारः लूट २
२०. उत्कृष्ट द्धन्द्ध निर्देशक
राजकुमार उप्रेतीः लूट २
चन्द्र पन्तः किस्मत २
सानुकुमार महर्जनः पलाँस

सलमानका कारण ‘बीग बोस’ प्रतिस्पर्धी असुरक्षित ?

बलिउड नायक सलमान खानको धम्कीका कारण आफू असुरक्षित भएको भन्दै रियालिटी टीभी शो ‘बीग बोस’मा सहभागी एक प्रतिस्पर्धीले प्रहरीमा उजुरी दिएका छन् ।
एक सातामै यो शोबाट बाहिरिएका जुबेर खानले सलमानको धम्कीका कारण आफू असुरक्षित भएको भन्दै प्रहरीमा एफआइआर दर्ता गरेका हुन् । जुबेरले शोमा सहभागी भएको दिनदेखि नै अन्य प्रतिस्पर्धीसँग अभद्र व्यवहार गरेको, महिला सहभागीसँग असभ्य भाषा बोलेपछि शोका संचालक सलमान खान उनीविरुद्ध खनिएका थिए । उनले, शनिबार प्रशारित शोमा जुबेरलाइ निकै थर्काएका थिए । सलमानकै कारण जुबेर शोबाट बाहिरिएका हुन् ।
शोबाट बाहिरिए लगतै जुबेरले सलमानसँग बदला लिने सोचेका छन् । उनले दर्ता गरेको एफआइआरमा लेखिएको छ-‘मलाइ सलमानले कुकुर बनाउँछु भनेका छन् । बाहिर निस्किएपछि आफूलाइ नछोड्ने भन्दै धम्की पनि दिएका छन् । साथै, बलिउडमा काम नै गर्न नदिने धम्की समेत दिएका छन् ।’
जुबेरले सलमानका कारण आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै प्रहरी गुहारेका हुन् । अब, प्रहरीले सलमानविरुद्ध कस्तो एक्सन लिने हो, हेर्न बाँकी छ ।
२०७४ असोज २३ गते १२:१५ मा प्रकाशित

खाएको थाल आफैं माझ्छुः माग्ने बुढा

मेरै बास्सै’बाट चर्चामा आएका केदार घिमिरे अहिले फिचर फिल्ममा व्यस्त छन् । हास्य कलाकारको सूचीमा समेत फरक पहिचान बनाउन सफल उनी ‘माग्ने बुढा’का रुपमा प्रख्यात छन् । तिनै माग्ने बुढासँग अनलाइनखबरले गरेको कुराकानीः
पछिल्लो पटक खुशी भएको क्षण ?
पेटको रोग लागेपछि एक किसिमको डिप्रेसनमा थिएँ । सिनेमा हलमा छक्कापञ्जा चल्दै थियो । दीपक दाइ र दीपा दिदीले मलाई हलमा लिएर जानुभयो । सबै दर्शकले ‘माग्ने माग्ने’ भनेर बोलाउँदा असाध्यै खुशी लागेको थियो ।
दुःखीचाहिँ केले बनाउँछ ?
दुःखी बनाउने तत्व धेरै छन् । मुख्य त, सिस्टम नै हो । अस्तव्यस्त सडक, कोचाकोच र जाममा परेका सवारी अनि अचाक्लि महंगीलगायत धेरै कुराले टेन्सन गराउँछ ।
‘माग्ने’ भनेर बोलाउँदा रिस उठ्दैन ?
केको रिस उठ्नु, बडो रमाइलो लाग्छ । कहिलेकाहीं बाटोमा हिँड्दा पनि साना केटाकेटीहरु ‘ऊ माग्ने बुढा’ भन्छन् । सुन्दा खुशी लाग्छ ।
माग्ने नाम कसरी जुर्‍यो ?
मोहन मिश्र दाइको ‘आम्मै’ भन्ने सिरियल थियो । मैले तीन भागको स्त्रिmप्ट लेखेर दिएको थिएँ । उहाँलाई मन परेन कि क्या हो बनाउनु भएन । अनि मैले पछि आफैंले बनाएँ ‘माग्ने बुढा’को क्यारेक्टर राखेर ।
रियल माग्नेसँग भेट भएको छ ?
संगतै गरेको त छैन । तर, बेला-बेलामा घरमा आउँछन् । मन्दिरतिर जाँदा पनि भेट्छु र सामान्य सहयोग पनि गर्छु ।

दिनमा कति जनासँग फोनमा कुराकानी हुन्छ ?
बिरामी हुँदा त कसैको पनि फोन उठाइनँ । अहिले त बाक्लै कुराकानी हुन्छ । दैनिक ५० जना जतिसँग कुरा हुन्छ होला ।
तपाईंबाट सिक्नुपर्ने कुरो ?
खासै छैन । म एउटा सामान्य मान्छे हुँ ।
खराब कुरो ?
एक दुइटा छ, त्योचाहिँ नभनौं कि ?
झुट कत्तिको बोल्नुहुन्छ ?
ठीकै । कहिलेकाहीं मिलाएर झुट बोल्नुपर्ने हुन्छ । मैले झुठो बोलिदिँदा कसैलाई हानी हुन्न या कसैलाई फाइदै हुन्छ भने झुठो बोलिदिन्छु ।
झगडा गरेको याद छ ?
बुझ्ने भएपछि चाहीं छैन । सानोमा दाइसँग खुब झगडा पथ्र्यो । तर, जित मेरै हुन्थ्यो । दाइले जित्यो भने बाले दाइलाई बजाइहाल्नुहुन्थ्यो ।
घरको काम कत्तिको गरिन्छ ?
आफूले भात खाएको थाल आफैं माझ्छु । उठेपछि आफू सुतेको ओछ्यान आफैं मिलाउँछु । मैले घरमा गर्ने महान काम यही नै हो ।
भात पकाउनु भएको छ ?
मलाई सबैथोक बनाउन आउँछ । कहिलेकाहीं पकाएको छु ।
छोराछोरी के बनिदिए हुन्थ्योजस्तो लाग्छ ?
कलाकारै बनिदिए हुन्थ्यो भन्ने लाग्छ तर छोरी आईटी पढ्छु भन्दैछिन् ।
इन्टरनेटमा कति घण्टा बिताउनुहुन्छ ?
दैनिक चार घण्टा ।
पहिलो पटक मेल एकाउन्ट खोलेको याद छ ?
ठ्याक्कै याद छैन । हटमेलको जमाना थियो । मलाई मेल खोल्न आउँदैनथ्यो । साइबरकै मान्छेलाई भनेर हटमेल खोलेको थिएँ । अनि, हङकङमा रहेका एक साथीलाई मेल पठाएको थिएँ ।
काठमाडौंको राम्रो कुरो ?
काठमाडौंमा मुलुकका विभिन्न स्थानबाट आएका मानिसको बसोबास छ । विभिन्न जातजातिका मान्छे पनि छिमेकी भएर बसेका छन् । संसारमा यस्तो मिलन थोरै ठाउँमा मात्रै हुन्छ । कति देशमा त जातकै कारण युद्धसमेत भएको छ । यस अर्थमा काठमाडौंका मान्छे महान छन् ।
२०७४ असोज २३ गते १६:१० मा प्रकाशित

करोडौंकी मालिक बनिन् बालश्रमिक मारिया केकले कोरेको मारियाको भाग्यरेखा


केकले कोरेको मारियाको भाग्यरेखा

एजेन्सी
उनीसँग संघर्षका कथा मात्र छैनन्, दु:खद घटनाका शृंखला नै छन् । एकपछि अर्को विपत्तिबीच पनि उनी निरास भने भइनन् । यही बलियो अठोटले मारियालाई अहिले सफलताको चुचुरोमा पुर्‍याएको छ ।
कलिला हातमा कुटो-कोदालो
मारियाले आफ्नो बाल्यकालमा बच्चा बन्ने मौका पाइनन् । किनकि, गुडिया र खेलौना हुनुपर्ने उनका हातहरुले सानैदेखि कुटो-कोदालो खेलाए ।
ब्राजिलको ग्रामीण भेगमा पर्ने साओ पाउलो राज्यमा उनका बाबुले जग्गा भाडामा ल्याएर कृषि फार्म सञ्चालन गरेका थिए । मारियाले त्यही फार्ममा श्रम गर्नुपर्‍यो ।
बाल्यकालका उनले सोही फार्ममा काम गरेर बिताइन् । तर, अचानक उनको परिवारलाई ठूलो बज्रपात पर्‍यो । उनका बाबुको दुर्घटनामा परेर मृत्यु भयो । त्यसपछि उनको जीवन झनै कष्टकर बन्न पुग्यो । त्यतिबेला उनी १२ वर्षकी मात्रै थिइन् ।
मारिया भन्छिन्, ‘त्यसभन्दा दुःखद के नै हुनसक्ला, जुन मेरो जीवनमा बाल्यकालमै भयो ?’
बाबुको मृत्युपछि १० सन्तानको हेरचाह गर्ने जिम्मेवारी उनकी आमाको काँधमा आयो । बालबच्चाको लालनपालनमै समय बिताउनुपर्ने उनकी आमाले पतिले सञ्चालन गरेको कृषि फार्मलाई निरन्तरता दिन सकिनन् । अन्ततः उनले व्यवसाय छाडेर आफ्नो माइतीमा शरण लिने निर्णय गरिन् ।
मारिया भन्छिन्, ‘सबैभन्दा जेठी भएको नाताले नौ जना भाइबहिनीको पालनपोषणमा आमालाई सघाउनु मेरो पनि जिम्मेवारी थियो ।’
परिवारको दैनिक गुजारा चलाउनका लागि पैसा चाहिन्थ्यो । पैसा कमाउन मारिया र उनकी आमा गाउँका खेतबारीमा कामदार बने । उखुका बोटहरु काट्ने उनीहरुको प्रमुख काम थियो । घाम उदाउनु अघिदेखि नै काम थाल्ने मारिया र उनकी आमा रात पर्दासम्म काम गरिरहेकै हुन्थे ।
गाउँबाट शहरतिर
उखु फार्ममा काम गरेको पाँच वर्षपछि भने मारियाले गाउँ छाडेर शहर प्रवेश गर्ने निर्णय गरिन् । साओ पाउलो शहर प्रवेश गरेपछि पनि उनको जीवनमा कायापलट भने भएन । त्यहाँ उनी घरेलु कामदार बनिन् ।
उनका लागि यो बिल्कुलै नयाँ शहर थियो भने काम पनि सहज थिएन । उनले मालिककै घरमा बसेर काम गर्नुपथ्र्याे । विदा महिनामा दुई दिन मात्रै हुन्थ्यो । उनले आफ्नो सम्पूर्ण तलब आमालाई पठाउँथिन् । मारियाले शहरको घरमा काम गर्न लागे पनि उनकी आमा भने गाउँको उखु बारीमै व्यस्त थिइन् ।
अलि राम्रो तलब दिने घर खोज्न मारियाले दुई वटा घरमा काम गर्दागर्दै छाडिन् । र, एउटा धनाढ्यको घरमा पुगिन्, जहाँ तीन जनाको सेवाका लागि नौ कामदार राखिएको थियो ।
धनाढ्यको घरमा काम गरे पनि उनको मनले भने सहज महशुस गरेको थिएन । उनी बारम्बार सोच्थिन्, ‘मैले यो परिवारका लागि किन थरिथरिका खाना बनाउनुपर्ने ? घरका मानिसहरुले खाना खाइरहँदा किन गिलासमा पानी भर्नुपर्ने ?’
उनले बाल्यकालमा पढ्न पाइनन् । तर, पढ्ने भोक उनको मनमा अझै थियो । त्यसैले उनले पढ्न सुरु गरिन् । पढ्न थालेको केही वर्षमै उनले रिसेप्सनिस्टको जागिर पाइन् ।
शहरको जागिरले पनि उनलाई खुशी बनाउन सकेन । किनकि, आमा र उनको परिवार उनीभन्दा निकै टाढा थियो । त्यसैले उनले पुनः गाउँ फर्किने निर्णय गरिन् । यसपालि भने गाउँमा गएर उनले उद्योगमा काम गर्ने मौका पाइन् ।
मालिककी पत्नीको त्यो अनुरोध
सन् १९९५ मा उनले काम गर्ने उद्योगको मालिककी पत्नीले उनलाई एक अनौठो आग्रह गरिन्, जसले उनको जीवन कायापलट गरिदियो । मालिककी पत्नीले उनलाई ३५ किलोको केक बनाउन भनेकी थिइन् ।
मारिया भन्छिन्, ‘उनले केक बेच्ने काम गर्थिन् तर त्यस दिन उनको खुट्टा भाँच्चिएको थियो, जसका कारण उनले मसँग सहयोग मागेकी थिइन् ।’
मारियाले बनाएको केकले मालिककी पत्नीलाई प्रभावित बनायो । मिक्स्चर खरिद गरेर थप ग्राहक बढाउनतिर लागिन्, ती महिला ।
तर, त्यसको दुई वर्षपछि मारियाले जागिर छाडिन् । भाइसँग मिलेर उनले आफैं केकसप खोलिन् । र, यसको नाम राखिन् ‘सेन्साकोस् डाकोस् ।’ जसको अर्थ अंग्रेजीमा ‘मिठो केक’ भन्ने लाग्छ ।
त्यसपछिका दिन पनि कम संघर्षपूर्ण थिएनन् । एक दशकमै उनले चार वटा केकसप किनिन् ।
यही सिलसिलामा एक ग्राहकले उनलाई  फ्रान्चाइज बिजनेस गर्न सल्लाह दिए । मारियालाई यसबारे केही पनि थाहा थिएन । यसका लागि उनले एक वर्ष त अध्ययनमै बिताइन् । र, तिनै ग्राहक उनको पहिलो फ्रान्चाइज बने । दुई वर्ष बित्न नपाउँदै उनको केकसप ५० भन्दा बढी स्थानमा फैलियो ।

नेस्लेको बठ्याईंको सिकार
७४औं केकसप खोलेपछि उनले थाहा पाइन्, नेस्लेले यसअघि नै ‘सेन्साकोस् डाकोस्’ नाममा कम्पनी दर्ता गरेको छ ।
मारिया भन्छिन्, ‘मैले मुद्दा लड्ने बिचार गरें तर जित्न त्यति सहज थिएन । यही तनावले गर्दा म चार महिनासम्म एक रात पनि राम्ररी निदाउन सकिनँ ।’
यसपछि उनले आफ्नो कम्पनीको नाम नै परिवर्तन गर्ने निर्णय गरिन् । उनले ‘सेन्साकोस् डाकोस्’ बाट आफ्नो केक सपको नाम ‘सोडी डोकेस’ (स्विट सोडी) बनाइन् । उनले आफ्ना बच्चा सोफिया र डियगोको नामलाई मर्ज गरेर यो नाम जुराएकी थिइन् ।
यसपछि उनले आफ्ना सम्पूर्ण केकसपमा नयाँ लोगो पठाइन् । चार वर्षसम्म उनको केकसप नाफामा जान सकेन । विश्वसनीयता भने कायम रह्यो ।
सोही कारण एउटा पनि पसल बन्द गर्नुपरेन । अहिले भने १३ वटा राज्यमा अहिले उनका तीन सय वटा केकसप छन् ।
यसरी बालश्रमिकबाट संघर्ष-यात्रा थालेकी मारियासँग अहिले अपत्यारिलो सम्पत्ति मात्रै होइन, ठूलो नाम पनि छ । उनको वाषिर्क कारोबार अहिले ६ करोड ३० लाख अमेरिकी डलरबराबर छ ।
२०७४ असोज २३ गते १०:४७ मा प्रकाशित

‘आत्मा’सँग बस्दा पनि डराउँदिनन् यी युवती, तस्वीर हेर्दैमा होस उड्छ

कुनै प्रेतात्मा वा भूत भन्ने बित्तिकै डर लाग्दछ । तर यो दुनियाँमा एउटा यस्ती युवती छिन् जो यस्ता डरलाग्दा भुतात्मासँग बस्न सिकेकी छन् ।
यी युवतीको नाम हो, रेबिका । उनी आफ्नो कुकुरसँग घरमा बस्छिन् । उनको घरमा दिनहुँ अनौठो खालको आवाज आउँछ । घरमा पहिले बस्ने गरेको कुनै मानिसको जस्तो हुन्छ रे आवाज । हालै एक दिन उनी आफ्नो कुकुरसँग सुतेकी थिइन् । अचानक कुकुरको आँखा खुल्यो र उसले कुर्सीतर्फ घुरेर हेर्न थाल्यो ।
त्यसबेला रातको २ बजेको थियो । अचानक टेलिभिजन आफैं अन भयो र बज्न थाल्यो । उनन तत्कालै आफ्नो मोबाइल फोनबाट केही फोटा खिचिन् । जब उनले तस्वीर हेरिन् तब झसंग पार्ने खालका थिए । तस्वीरमा कोही व्यक्ति कुर्सीमा बसेको जस्तो देखिन्थ्यो ।
यद्यपि, रेबिकाका छिमेकीहरुले भने उनको घरमा असाधारण घटनाहरु हुने गरेको भन्दै घरमा भूत रहेको हुनसक्ने बताउँछन् । त्यसैले भूतको पहिचान गर्नसक्ने मानिस ल्याएर घरको निरीक्षण गर्न लगाउन छिमेकीहरुले रेबेकालाई अह्राउने गर्दछन् ।

रेबिकाको बुवाको सन् २०१२ मा हृदयाघातका कारण मृत्यु भएको थियो । त्यसबेला उनी ४४ वर्षका थिए । आफू घरमा भएको बेला आफूलाई कसैले घुरेर हेरेको अनुभूति हुने गरेको रेबिका बताउँछिन् । आफ्ना बुवाले नै आफ्नो सुरक्षा गर्न आफ्नो वरिपरि आएको हुनसक्ने उनको विश्वास छ ।
एजेन्सी
२०७४ असोज २३ गते १०:५३ मा प्रकाशित

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

२३ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो ।

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।
गौचनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।
राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएर सरकारविरूद्ध प्रदर्शन गरेका थिए । उनीहरूले अस्पताल अगाडिको सडकमै बसेर गृहमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए । उनीहरूको कारण बानेश्वर तीनकुने सडक अवरूद्ध भएको थियो ।
प्रहरीले  गौचनको हत्या आशंकामा तीन जनालाई पेस्तोलसहित पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको रोशी नगरपालिका ४ का  छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन् । उनीहरू गौचनको हत्यामा संलग्न भए/नभएकोबारे एकीन नभएको र घटनाबारे गहन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेलले कैद गरेका केही तस्वीर 









२०७४ असोज २३ गते १६:११ मा प्रकाशित

जसले आँखै अगाडि शरद गौचन ढलेको देखे… २० मिटरको दूरीमा प्रहरीहरु क्यारेमबोर्ड खेल्दै थिए


२३ असोज, काठमाडौं । भरत रम्तेलको मोटरसाइकल वर्कशप छ, नयाँ बानेश्वरको शान्तिनगर चोकनजिकै प्रयागमार्ग चोकमा । उनी सोमबार अपरान्ह आफ्नै युआर मोटरसाइकल वर्कशपमा पल्सर बाइक मर्मत गर्दै थिए । उनको वर्कशपकै अगाडि एउटा जीपमा ईंटा प्रहार गर्दै एक युवक ओमशान्ति चोकतिर दौडिए ।
किन गाडीमा ढुंगा हानेको होला भनेर हेर्दाहेर्दै पटाका पड्केको जस्तो अवाज आयो । आवाजतिर फर्किंदा गाडीको अगाडि सीटमा बसेका व्यक्तिको टाउको गोली लागेर लत्रिसकेको थियो । बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडीको सिसा क्षतविक्षत भएको थियो भने गोलीले अगाडिकोे सिसामा दुईवटा दुलो पारेको थियो ।
ढुंगा हान्ने व्यक्ति र गोली हान्ने व्यक्ति अलग-अलग बाटोतिर दौडिए । गाडीका चालकले आत्तिएर रुँदै फोन लगाउन थाले । वरिपरि पसलका व्यक्तिहरु जम्मा भएर चालकलाई अस्पतालतर्फ गाडी मोड्नू भन्दै कराउन थाले । त्यतिञ्जेल घरका मान्छे पनि अर्को गाडी लिएर आइपुगे ।
करीव ५/७ मिनेट चलेको यो अत्यासपछि पत्ता लाग्यो, गाडीभित्रै गोली लाखेर लत्रिसकेका व्यक्ति सोही टोलका बासिन्दा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन रहेछन् ।
दुई गोली लागेर अत्यधिक रक्तश्राव भइसकेको अवस्थामा गौचनलाई अर्को गाडीमा राख्न नमिल्ने भएकाले सोही गाडीमा सिभिल अस्पतालतर्फ लगियो ।
अस्पताल पुर्‍याएको केहीबेरमै खबर सनसनी बन्यो- गोली लागेका शरद गौचनको मृत्यु भयो ।
घर र घटनास्थलको दूरी
एक मिनेटभित्र गाडीमा अगाडिबाट गाडीमा ढुंगा हान्ने र छेउबाट लगत्तै गोली हान्ने दुवै घटना गराएर मास्क लगाएका दुई आक्रमणकारी फरार भइसकेका थिए । त्यो क्षण सम्झिँदै रम्तेलले अनलाइनखबरसँग भने- के भएको हो भन्ने सोच्न नपाउँदै गौचन ढलिसकेका थिए ।
अपरान्ह ३ बजे शान्तिनगर चोकस्थित घरबाट बाहिर निस्किएका निर्माण व्यवसायी गौचनमाथि ३ सय मिटर दूरी नकट्दै आक्रमण भएको थियो । गौचनको घर भएको ओम शान्ति चोक र हत्या भएको प्रयागमार्ग चोकबीचको दूरी मुस्किलले तीन सय मिटर पनि छैन ।
सर्वोच्चका न्यायाधीशको घर छेउमै गोली चल्यो
यी दुई चोकको बीचमा अर्थात गोली लागेको चोकमा पुग्न २० मिटरजति अगाडि सर्बोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको घर छ । उनको घरमा नेपाल प्रहरीको एउटा डफ्फा सुरक्षामा खटिएको छ । गोली चलेका बेला पोष्टको ड्युटीमा थिए प्रहरी जवान-टेकबहादुर शाही ।
अनलाइनखबरकर्मीसँग कुरा गर्दै शाहीले भने- म पोष्टमा थिएँ । अरु साथीहरु भित्र क्यारेमबोर्ड खेल्दै थिए । एक्कासी पटाका पड्किएको आवाज आयो । लगातार दुईपटक पड्किएपछि पटाका होइन जस्तो लाग्यो । हामी दौडिएर चोकमा पुग्दा मान्छेको भीड जम्मा भइसकेको थियो, गोली लागेका व्यक्ति लल्याकलुलुक भएर मुन्टो तल झरिसकेको थियो ।
अनिष्ठको आवाजमा भुके कुकुर
गोली चलेको आवाजसँगै टोलका कुकुर भुकेपछि अनिष्ठको आभास भयो सियोन व्युटी पार्लरकी माया राईलाई । उनको बुझाइमा पटाका पड्किँदा यसरी विश्मयकारी ढंगले कुकुर भुक्ने गर्दैनन् । जुन ढंगले कुकुर भुके, त्यसले उनीहरुलाई घटनास्थलतिर दौडायो ।
सियोन व्युटी पार्लरकी माया राई
गौचनको गाडीमा ढुंगा हान्ने व्यक्ति कात्यायानी चोकतिर भागेको देखेका रम्तेलले गोली हान्ने व्यक्ति ओमशान्ति चोकतिर भागेको बताए । गोली हान्ने व्यक्तिले गुलाबी रंगको ज्याकेट लगाएको थियो । ढुंगा हान्नेले कालो रंगको ज्याकेट लगाएको उनले बताए ।
गाडीको अगाडि सिसामा ढुंगा-ईटा प्रहार भएपछि सबैको ध्यान त्यतै मोडियो । त्यही बेला गुलाबी ज्याकेट लगाउने व्यक्तिले पिस्तोलबाट दुई गोली प्रहार गरेको थियो । गाडीको अगाडि सीटमा बसेका गौचनको पेटमा गोली लागेपछि उनी अचेत भइसकेका थिए ।
पाँचबाटोमा भयो आक्रमण
गौचनको घर अगाडि शान्तिनगर चोकमा ठूलो चौर र खाली जग्गा छ । त्यहाँबाट ओमशान्ति चोक, शान्तिनगर गेट र प्रयागमार्ग हुँदै खरिबोट जाने तीनवटा बाटा छन् ।
आखिर आक्रमणकारीले घर अगाडि उनीमाथि आक्रमण नगरी प्रयागमार्ग नै किन रोजे ?
निकै योजनावद्ध ढंगले गरिएको गौचनको हत्या लामो तयारीपछि भएको बुझ्न सकिन्छ । घरै अगाडि उनीमाथि आक्रमण नगरी प्रयागमार्गको अप्ठेरो र व्यस्त चोकमा हमला गरिएको छ । आक्रमणकारीले भाग्नका लागि ५ वटा सहायक सडक र एउटा गल्ली रहेको चोक छनौट गरेको देखिन्छ ।

आक्रमणमा कसको संलग्नता ?
यो आक्रमणका पछाडि कसको हात छ ? प्रश्न अनुत्तरित नै छ । तर एउटा कुरा प्रष्ट छ- यसमा ठेक्कापट्टाको लामो रीसइबी, टेण्डर लिने र दिलाउने कुरामा लाभ नपाउने समूहको हात रहेको हुन सक्छ ।
महासचिव हुँदादेखि नै गौचनले ठूला ठेक्काहरुको हात पारेपछि पेशेवर गुण्डाहरुले उनीसँग डाहा गरेको हुन सक्छ । गौचनसँग असन्तुष्ट त्यही समूहले निकै लामो योजना र ठूलो रकम सुपारी दिएर पेशेबर शुटर मार्फत यो घटना गराएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटना लगत्तै शरदको घरमा प्ुगेका उनका नातेदार तथा माओवादी नेता अमिक शेरचनका दाजु डीबी शेरचनले ठेकेदारहरुले नै उनको हत्या गराएको आरोप लगाए । उनले भने- ‘हामीलाई यस्तो आभाश पहिले नै भइसकेको थियो, प्रष्टै छ, यसमा ठेकेदारहरुकै हात छ ।’
गौचन हत्याको जिम्मेवारी मनोज पुन समूहले लिएको अपुष्ट हल्ला पनि सोमबार सम्साँझै चल्यो । प्रहरीलाई हवाला दिँदै कतिपयले रमेश बाहुनको समूहलाई पनि यसमा जोडेका छन् । यद्यपि यी हल्लाहरु अनुसन्धानबाट पुष्टि हुन बाँकी आशंकाहरु मात्रै हुन् ।
जसले गरेको भए पनि गौचन हत्यामा पेशेवर सार्प सुटरहरुको प्रयोग गरिएको प्रारम्भिक आशंका प्रहरीले गरेको छ, तिनीहरुलाई भारतबाट सुपारी दिएर ल्याइएको पनि हुन सक्छ । अन्यथा क्षणभरमा दिनदहाडै व्यस्त शहरमा गोली चलाएर उनीहरु उम्कन सक्ने कल्पना गर्न सकिँदैनथ्यो ।
हेरौं, अब प्रहरीले केही दिनमा घटनाको रहस्य उजागर गर्ला ।
२०७४ असोज २३ गते २०:०२ मा प्रकाशित

हवाइजहाज उडाउनभन्दा स्कुटी चलाउन डर लाग्छ


२३ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६० वर्षे इतिहासमा एक मात्र कर्मचारीलाई ‘स्वर्ण पदक’ दिएको छ । ती भाग्यमानी हुन्, पाइलट उद्धव घिमिरे ।
छोटो समयमा देखाएको उच्च कार्यकुशलताका लागि घिमिरेलाई निगमले उक्त सम्मान दिएको थियो, जसले उनको मनोबल अझ उच्च बनाइरहेकै छ ।
सन् २०११ मा क्याप्टेन बनेका घिमिरे ०१४ देखि निगम प्रवेश गरेका हुन् । सुरुमा अग्नि त्यसपछि सिम्रिक एयरलाइन्स हुँदै उनी निगम आएका थिए । लगत्तै चीन पुगेर ६५ दिनको तालिम लिए । स्वदेश फर्केर चीनमै बनेको वाई-१२ जहाज ‘कोइली’ उडाउन थाले ।
निगमसँग त्यतिबेला दुई वटा वाई-१२ जहाज थिए, कोइली र गौंथली । आठ महिनासम्म घिमिरे एक्लैले दुवै जहाजको भार काँधमा बोके । आठ महिनाको परिक्षामै उनी आफूलाई अब्बल सावित गर्न सफल भए ।
दुवै जहाज एक्ला नेपाली पाइलटले उडाउँदा पनि ‘अकुपेन्सी’ ८६ प्रतिशत पुग्यो । र, दुवै जहाज नाफामा गए ।
‘आठ महिनासम्म हरेक दिन उडान गर्ने म सायद नेपालकै पहिलो पाइलट हुँ,’ घिमिरे गर्वसाथ बताउँछन् । यस अवधिमा एक पटक पनि जहाज ‘डिले’ हुन नदिएर अर्को सफलता रचे, घिमिरेले ।
इन्धन आफैं मगाउँथे । यात्रीलाई छिटो जहाजमा चढाउन कर्मचारीलाई कराउँथे । समयमा नआउने यात्रीलाई विमानस्थलमै छाडेर उडे ।
‘एकचोटि समयमा नआएका ६ जना यात्री छाडेर उडेको थिएँ, व्यवस्थापनले मसँग जवाफ माग्यो,’ उनी भन्छन्, ‘तर, म टाइममा एकदम स्ट्रिक्ट छु । आफ्नै हाकिम सा’ब पनि ढिला आउनुभयो भने छोडेर उडिदिन्छु ।’
उनका लागि हाकिमहरु पनि उडानका क्रममा यात्री नै लाग्छन् ।
चिनियाँ जहाज ल्याउने सरकारी निर्णयको चर्को आलोचना भयो । ती जहाज काठमाडौं आएपछि पनि आलोचना कम भएन । क्याप्टेन घिमिरेलाई भने चिनियाँ जहाजको उडान राम्रो लाग्छ । भन्छन्, ‘ती जहाजमा जडित इन्जिन क्यानाडामा निर्मित टि्वनअटर जहाजका हुन् । जहाजका बढी मात्र चीनमा बनाइएको हो । चिनियाँ जहाज उड्नासाथ झर्ने भ्रम धेरैमा देखिन्छ । तर, जहाज भनेको चंगा होइन । यसको सिस्टम बलियो हुन्छ ।’
१८ सिटे चिनियाँ जहाजको भारवहन क्षमतामाथि प्रश्न उठाइँदै आएको छ । त्यसको कारण भने बेग्लै रहेछ । क्याप्टेन घिमिरे भन्छन्, ‘पहिले आएको कोइलीमा एयरबसका हेभी सिट छन् । त्यसैले भारवहन क्षमता कम भएको हो । पछि आएको गौंथलीमा कम तौलका सिट हालिएको छ, जसले टि्वनअटर जतिकै परफरमेन्स दिन्छ ।’
अहिले उनी काठमाडौंबाट पोखरा, भैरहवा र सिमरा उड्छन् । कोइलीले काठमाडौंबाट जाँदा र फर्किंदा १६ यात्रु बोक्छ । इन्धन बढी राख्नुपर्दा कहिलेकाहीँ यात्रु संख्या घटाइन्छ ।
एउटा समाचारले बदल्यो करिअर

पाइलट बन्ने उद्धवको सानैदेखिको इच्छा होइन । उनी त डाक्टर बन्न चाहन्थे ।
खोटाङको एउटा सरकारी बिद्यालयमा पढेका उनी एसएलसीमा जिल्ला सेकेन्ड भएका थिए । त्यसपछि डाक्टर बन्ने लक्ष्यका साथ काठमाडौं आएर दिपेन्द्र प्रहरी विद्यालयमा भर्ना भए । आईएस्सी सकेपछि नेम इन्स्टिच्युटमा एमबीबीएसको तयारी कक्षा थाले । त्यहाँ दुई वर्ष पढे तर ‘फ्री स्कलरसिप’मा नाम निकाल्न सकेनन् । त्यसपछि माइक्रोबायोलोजी लिएर त्रिचन्द्रमा बीएस्सी भर्ना भए ।
उनी बिएस्सी तेस्रो वर्षमा थिए । एक दिन अखबार पढ्दै गर्दा एउटा समाचारमा उनको आँखा पर्‍यो । समाचार थियो, नेपालमा पाइलटको अभाव । पाइलट पढेर आउनेले नेपालमा तुरुन्त जागिर पाउने समाचारमा उल्लेख थियो । त्यही समाचारले उनको सोच बदलिदियो । र, उनी पाइलट बन्ने ध्याउन्नमा लागे ।
बुझ्दै जाँदा फिलिपिन्समा पाइलट कोर्स सस्तो र सहज रहेको पत्ता लगाए । उनलाई २८ हजार डलर ‘तु’ चाहियो । तर, उनीसँग एक रुपैयाँ पनि थिएन । उनले घर पुगेर बुवालाई भेटे ।
‘बा, म पाइलट पढ्ने भएँ,’ उनले भने, ‘२०-२२ लाख लाग्ने रहेछ ।’
‘कहाँबाट ल्याउने यत्रो पैसा ?’ बुवाले जिब्रो टोक्दै सोधे ।
‘मेरो अंशको जग्गा छुट्याइदिनुस्, सबै बेचिदिन्छु,’ उनले भने ।
उनका बाबुले दुई छोरालाई अंशबन्डा गरिदिए र आफ्नो अंशमा परेको जग्गा १८ लाखमा बेचे । त्यसमा बाबुले अलिकति पैसा थपिदिएपछि उनी फिलिपिन्स उडे ।
फिलिपिन्स पुग्दा उनका सहपाठीहरुको खल्तिमा ६-७ हजार डलर थियो । उनीसँग भने ६-७ सय । पढाइ सकेर स्वदेश फर्किंदा उनीसँग डेढ सय डलर बाँकी थियो । पाइलट पढ्दा मितव्ययी बन्नु घिमिरेको बाध्यता थियो ।
स्वदेश फर्केर अग्नि एयरबाट करिअर सुरु गरे ।
जहाजभन्दा स्कुटी चलाउन डर
घिमिरेले जहाज उडाउने तरीका पढ्नुअघि साइकल पनि सिकेका थिएनन् । मोटरसाइकल र गाडी त टाढाको कुरा । ०७० सालमा आएर बल्ल उनले स्कुटी सिके । अहिले काठमाडौंमा यताउता गर्नुपर्दा स्कुटी प्रयोग गर्छन् ।
‘प्लेनभन्दा स्कुटी चलाउँदा डर लाग्छ,’ घिमिरेको अनुभव छ, ‘स्कुटी चलाउँदा आफ्नो गल्ति नभए पनि अर्कोले आएर हानिदेला कि भन्ने डर हुन्छ । प्लेन उडाउँदा हुँदैन ।’
उनी स्कुटी बढीमा ४० किलोमिटर प्रतिघण्टाको गतिमा हाँक्छन् । जबकि, जहाज उडाउँदा दुई सय ५० किमि प्रतिघण्टाको रफ्तारमा हुन्छन् ।
कति सुरक्षित ?
धर्ती छाडेर आकाशको यात्रा गर्नुलाई कतिपयले निकै जोखिमपूर्ण ठान्छन् । नेपालजस्तो डाँडाकाँडाले ६८ प्रतिशत भूभाग ओगटेको मुलुकमा त यस्तो जोखिमलाई स्वाभाविक मान्न पनि सकिएला ।
घिमिरे यसलाई कसरी लिन्छन् ? भन्छन्, ‘संसारमा सबैभन्दा सुरक्षित सवारी भनेकै हवाईजहाज हो । तर, नेपालको भौगोलिक अवस्था, मौसम र विमानस्थलहरुको विकटताले गर्दा दुर्घटनाहरु भइरहेका छन् ।’
सँगै पढेका १६ जना साथीलाई उनले जहाज दुर्घटनामा गुमाइसकेका छन् । यद्यपि, धर्ती छाडेर आकाशमा उडिरहँदा उनी मनमा भय भन्ने चिज नै आउन दिँदैनन् ।
‘गाउँमा जन्मे-हुर्केको भएर हो कि के हो, म बढी नै साहसी छु,’ घिमिरे भन्छन्, ‘जहाजका दुवै इन्जिन फेल भए पनि सुरक्षित अवतरण गराउन सक्छु भन्ने आत्मविश्वास छ ।’
आकाशमै कविता फुर्छ

आकाशमा उडिरहँदा घिमिरे डाँडाकाँडा र हिमालका मनोरम दृष्य हेरेर थाक्दैनन् । मौसम सफा भएको बेला मोबाइलबाट तस्बिर पनि खिच्न छुटाउँदैनन् । साहित्यक चेतसमेत भएका यी पाइलटलाई यस्तोबेला कहिलेकाहीँ कविता पनि फुर्छ ।
‘आकाशमा फुरेको कवितालाई मनमै सजाएर राख्छु र फुर्सदमा सम्झेर कागजमा उतार्छु,’ उनी भन्छन् ।
जहाजमा उडिरहँदा को-पाइलटहरुसँग संवाद भइरहने तर व्यक्तिगत कुराकानी नहुने उनी बताउँछन् । भन्छन्, ‘मौसम, ट्राफिकलगायत विषय हुन्छन्, कुराकानीका । अरु सन्दर्भमा प्रवेश नै गरिँदैन ।’
गल्ति सच्याउने मौका नहुने कर्म भएकाले जहाज उडाउँदा एकदमै एकाग्र हुनुपर्ने उनको अनुभवले बताउँछ ।
कस्तो बेलामा जहाज चलाउन सबैभन्दा कठिन हुन्छ ? भन्छन्, ‘घनघोर वर्षा भएको बेलामा हामी अत्यधिक सतर्क हुनुपर्छ । त्यस्तो बेला जहाज धेरै ढलपल हुन्छ । यात्री आत्तिन्छन् । उनीहरु पाइलटलाई हेरिरहेका हुन्छन् । म उनीहरुतिर फर्केर हाँसिदिन्छु र ढुक्क हुन्छन् ।’
जहाज उडाउँदै गर्दा उनलाई जोमसोम र लुक्लाको आकाशबाट देखिने दृष्यले मन खिच्छन् । लुक्लामा त उनले १५ सयदेखि दुई हजार पटक ‘ल्यान्ड’ गरिसकेका छन् । उनको करिअरको पहिलो उडान नै काठमाडौं-लुक्ला थियो । सुरुवाति दिनमा उनी जोमसोम पनि उडे ।
‘ती गन्तव्यमा उड्दाजस्तो मज्जा कहिल्यै आएन,’ उनी भन्छन् ।
आकाश ढाकेर बसेका कुनै बादल स्थिर हुन्छन् भने कुनै चलायमान । कुन बादल बढी जोखिमयुक्त हुन्छ ? उनको छोटो जवाफ, ‘क्युमुलो निम्बस ।’ जलवाष्पयुक्त यो बादल चलायमान हुन्छ, जसलाई कालो बादल पनि भन्ने गरिन्छ । चट्याङ पार्ने र हावाहुरी चलिरहने यस्तो बादललाई पाइलटहरु सकेसम्म टाढै बस्न रुचाउँछन् ।
र, जहाजमा जडित मौसमी राडारले उक्त बादलको संकेत गर्नासाथ उडान ‘डाइभर्ट’ गर्छन्, पाइलटहरुले ।
क्याप्टेन घिमिरे भगवानमा आस्था राख्छन् तर मुर्तिपूजा गर्दैनन् । हरेक टेकअफ र ल्यान्डिङमा स्वच्छ मनले भगवानको पुकारा गर्छन्, ढोग्छन् अनि अगाडिको प्रक्रिया सुरु गर्छन् ।
उनी धुम्रपान र मद्यपानबाट विलकुलै टाढा छन् । अहिलेसम्म मदिरा चाखेका पनि छैनन् ।
सन्तुष्टीको पेशा, सुविधा बढ्ने आशा
डाक्टर बन्ने उद्देश्य लिएर काठमाडौं छिरेका उनको बाटो आकाशको दुनियाँमा प्रवेश गर्‍यो । अनायास छनोट गरेको करिअरप्रति घिमिरेमा रत्तिभर निराशा छैन, पूर्ण सन्तुष्ट छन् ।
‘डाक्टर बनेको भए पैसा त धेरै कमाउँथेँ होला तर यति आत्मसन्तुष्टी सायदै मिल्थ्यो,’ उनी सोच्छन् ।
वायुसेवा निगमको जागिरबाट घिमिरे सन्तुष्ट छन् । तर, निजी कम्पनीतिर सरकारीमा भन्दा बढी तलब, भत्ताको ‘अफर’ हुन्थ्यो भन्ने उनलाई थाहा छ ।
‘निजी एयरलाइन्समा काम गर्ने साथीहरुले मेरोभन्दा कैयौं गुणा बढी कमाएको देख्दा कहिलेकाहीं मन नलोभिने होइन,’ उनी भन्छन्, ‘तर, राष्ट्रिय ध्वजावाहकमा काम गर्नुको गौरव आफ्नो ठाउँमा छ र यसमा हुँदा भोलि एयरबसमा जान सकिन्छ भन्ने पनि हो ।’
घिमिरेका अनुसार उनले सय घण्टा उड्दा करिब एक लाख ८० हजार रुपैयाँ पाउँछन् । जबकि, निजी कम्पनीमा भएको भए १० लाख रुपैयाँभन्दा बढी पाउने थिए । ‘निगममा पाइलट, को पाइलट र क्याबिन क्रुहरु ठगिएका छन्,’ उनी भन्छन्, ‘यसलाई बदल्नुपर्छ, अन्यथा यहाँ पाइलटहरु टिकाउन गाह्रो पर्छ ।’
उनीसँगै निगम प्रवेश गरेको १४ मध्ये आठ जना निजी एयरलाइन्सतिर गइसकेका छन् । ‘यस्तै अवस्था रहिरह्यो भने हामीले पनि सोच्नुपर्ने हुन्छ,’ घिमिरे भन्छन् ।
मन्त्री बन्ने धोको
४५ वर्षको उमेरसम्म मात्र आकाशमा उड्ने योजना बनाएका छन्, घिमिरेले । त्यसपछिको उडान भने जमीनमै गर्ने उनको अर्कै योजना छ । ‘४५ वर्ष पुगेपछि यो पेसा छाडेर राजनीतिमा प्रवेश गर्छु,’ उनी भन्छन् ।
राजनीतिमा लागेर मन्त्री बन्ने अनि झण्डावाल गाडीमा कुद्ने उनको पहिल्यैदेखिको धोको रहेछ । ‘मैले जीवनमा धेरै दुःख गरेको छु, सानोमा घाँस काट्दा हँसियाले औंला काटेका दागहरु अझै छन्,’ उनी भन्छन्, ‘त्यसैले जसरी पनि एक पटक मन्त्री भएर झण्डावाल गाडीमा कुद्ने महत्वाकांक्षा छ ।’
‘देशको राजनीतिमा जब राम्रो मान्छेको खोजी हुन्छ, त्यसपछि मेरो पालो आउँछ’
मन्त्री बन्ने अवसर आएमा नागरिक उड्ययन मन्त्रालय रोज्ने उनी बताउँछन् । ‘म मन्त्री बन्ने भनेको भ्रष्टाचार गर्न वा सरकारी सुविधामा मोजमस्ति गर्नलाई होइन,’ घिमिरे भन्छन्, ‘काम गर्नलाई हो । नागरिक उड्ययन मन्त्रालय हाँक्न पाएँ भने म यस क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्छु ।’
अहिलेसम्म उनको आस्थाको राजनीतिक दल छैन । तथापि, राजनीतिमा प्रवेश गर्ने बेलासम्ममा विद्यमान पार्टीमध्ये एउटा छान्ने उनी बताउँछन् । भन्छन्, ‘देशको राजनीतिमा जब राम्रो मान्छेको खोजी हुन्छ, त्यसपछि मेरो पालो आउँछ ।’
अहिले नै पनि आफूले जिम्मेवारी पाएमा निगममा आमूल परिवर्तन ल्याउन सक्ने उनको आत्मविश्वास उनमा छ ।
‘जसरी जनार्दन शर्मा र कुलमान घिसिङले विद्युतको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभयो, त्यसैगरी निगमलाई कायापलट गर्न म सक्छु,’ उनी भन्छन्, ‘मैले जिम्मेवारी पाएँ भने अहिले नै म कुनै पनि जहाज भुईंमा राख्नै दिन्न । जहाज उडायरै निगमलाई नाफामा लैजान्छु, खर्च धान्न ग्राउन्ड ह्यान्डलिङको जिम्मा आवश्यक हुने छैन ।’
यसरी सुध्रिन्छ निगम
राष्ट्रिय ध्वजावाहक भएर पनि निगम किन उँभो लाग्न सकेको छैन त ? क्याप्टेन घिमिरे सरकारलाई दोष दिन्छन् ।
‘ध्वजावाहक भनेर त्यत्तिकै राम्रो हुने होइन । सरकारसँग कुनै योजना छैन, कुनै भिजन छैन । अनावश्यक राजनीतिक हस्तक्षेप मात्र छ,’ उनी भन्छन् ।
निगम सुधारका लागि सबैभन्दा पहिले सरकारी नीतिमा परिवर्तन हुनुपर्ने उनी औंल्याउँछन् ।
‘सरकारले निगमलाई नियन्त्रणमा राख्ने होइन, नियमन गर्ने हो । जहाजहरु थप्नुपर्‍यो । पाइलटहरुको तलब बढाएर सक्षम पाइलट ल्याउनुपर्‍यो । जहाज भुईंमा राख्नु भएन । ग्राउन्ड ह्यान्डलिङले वर्षमा एउटा जहाज थप्छ । तलब खुवाउने जहाज उडाएर हो,’ उनले एक सासमा सुधारमा योजना बताए ।
तथापि, एउटा कर्मचारीले मात्रै चाहेर केही नहुने उनले बुझेका छन् । सबै विभागीय प्रमुखमा इमानदारिता भएमा प्रबन्ध निर्देशकको कामको गति ह्वात्तै माथि जाने उनले बुझेका छन् ।
सरकारले जहाजहरु थपिदिए र तिनको निर्वाध उडान भए निगम नाफामा जान धेरै दिन नलाग्ने उनको भनाइ छ । ‘चाँडै नै एयरबस-३३० आउँदैछ । यो हाम्रो अहोभाग्य हो । यसका लागि सुगत सर (एमडी सुगतरत्न कंसाकार) लाई धन्यवाद दिनुपर्छ,’ उनी भन्छन् ।
निगम भनेको बोइङको नेचरको एयरलाइन्स हो । एयरबस ल्याएर गलत गरियो पनि भनिन्छ नी ? प्रश्न भुईंमा खस्न नपाउँदै उनले जवाफ फर्काए, ‘१०-१५ वर्षअगाडि बोइङको समय थियो । अब एयरबसको समय छ । प्रविधि नयाँ आएको छ । कतिपय ठाउँमा बोइङ ल्यान्ड गर्न दिइँदैन । बोइङमा इक्विपमेन्ट छैन । एयरबसमा छ ।’
जहाज थोरै भएका कारण निगमले ‘स्मुथ्ली’ सेवा दिन नसकेको उनको बुझाइ छ । जहाज बिग्रिंदा स्पेयर पार्ट्स मगाउन लामो प्रक्रियामा जानुपर्ने अवस्थाले पनि अवरोध पुर्‍याएको भन्दै भन्छन्, ‘निजी एयरलाइन्सको जहाज बिग्रियो भने दुई घण्टामा बनेर निस्किन्छ तर हाम्रोमा धेरै दिन लाग्छ ।’
सरकारी व्यक्तिले नै हेपे
सरकारी उच्चपदस्थ व्यक्तिहरुले नै निगमलाई हेपिरहेको घिमिरेको गुनासो छ । राष्ट्रपति र प्रधानमन्त्रीदेखि मन्त्री र सचिवहरुले विरलै निगमका जहाजमा यात्रा गर्छन् ।
घिमिरेले आठ महिनामा जम्मा दुई जना मन्त्री मात्र बोक्ने मौका पाए । उनी भन्छन्, ‘उहाँहरु चढ्नुभयो भने पो के-के सुधार गर्नुपर्छ भन्ने महशुस गर्नुहुन्छ त ।’
निगमका जहाज निजी जहाजजसरी ‘स्टाटस सिक्वेन्समा’ विमानस्थलमा बस्नुपर्ने बाध्यता पनि उनलाई चित्त बुझेको छैन । ‘स्टाटस सिम्बोलमा बस्नु नपर्ने हो भने हाम्रो फ्लाइट एक मिनट पनि डिले हुँदैन,’ उनी भन्छन् ।
२०७४ असोज २३ गते १९:०० मा प्रकाशित

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय प्रस्ताव, प्रदेशको अस्थायी राजधानी पनि तोकियो


२३ असोज, काठमाडौं। संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । हाल विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो ।
मुलुकलाई संघीय संरचनामा विद्यमान मन्त्रालयलाई समायोजन गर्दा १५ वटा मन्त्रालय रहने सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवहरि न्यौपानेले जानकारी दिए ।
सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले केन्द्रमा १५ र प्रदेशमा सात मन्त्रालय रहने गरी खाका तयार पारेसँगै मन्त्रालयको संख्या आधा घटने भएको हो ।
प्रवक्ता न्यौपानेले पहिले १८ वटा मन्त्रालयको खाका तयार पारे पनि राज्य व्यवस्था समितिको निर्देशनमा १५ वटा मन्त्रालय बनाइएको बताए ।
उनका अनुसार केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ तथा योजना मन्त्रालय, वन, विज्ञान तथा वातावरण मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य श्रम तथा आपूर्ति मन्त्रालय, कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय रहने प्रस्ताव गरिएको छ ।
यस्तै गृह मन्त्रालय, जलस्रोत तथा ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायाय मन्त्रालय, रक्षा मन्त्रालय, शिक्षा तथा सञ्चार मन्त्रालय, महिला तथा सामाजिक न्याय मन्त्रालय, संस्कृति, पर्यटन तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रस्ताव गरिएको छ ।
यस्तै प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालय, प्रदेश गृह मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने भएका छन् ।
समितिले तयार पारेको उक्त खाका मन्त्रिपरिषद् बैठकमा लैजाने प्रवक्ता न्यौपानेले बताए ।
प्रदेशको अस्थायी राजधानी पनि तोकियो
यस्तै समितिले अस्थायी प्रदेशको राजधानी पनि तोकेको छ । भौतिक संरचना, ऐतिहासिक महत्व, सुरक्षाको अवस्था र भौगोलिक केन्द्रका लागि अवश्यक पर्ने मापदण्डका आधारमा सात वटै प्रदेशका प्रदेश राजधानीसमेत सो समितिले प्रस्ताव गरेको हो ।
समितिको प्रतिवेदनअनुसार प्रदेश नं. १ को विराटनगर, धनकुटा वा इटहरी प्रदेश नं. २ को जनकपुर, प्रदेश नं. ३ को बनेपा, धुलिखेल, काठमाडौँ वा हेटौँडा, प्रदेश नं. ४ को पोखरा, प्रदेश नं. ५ को दाङ वा बुटवल, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को दिपालय वा धनगढीलाई अस्थायी राजधानीको तोकिएको छ ।
तोकिएका प्रदेश राजधानी अस्थायी हुने र प्रदेश सभापछि स्थायी बनाइने भएको छ ।
२०७४ असोज २३ गते १८:५९ मा प्रकाशित

निर्माण कम्पनीले कामदार र उपकरण थप्यो

२३ असोज, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भैरहवा विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसनसँगको ठेक्का नतोड्न निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिँदै समितिले पछिल्ला दिनमा चिनियाँ कम्पनीले काममा सुधार ल्याएकाले तत्काललाई ठेक्का तोड्न उचित नहुने बताएको छ । काम सन्तोषजनक नभएको बताउँदै सरकारले ठेक्का तोड्ने चेतावनी दिएको थियो ।
गत भदौमा नेपाल नागरिक उड्डयन प्राधिकरणले डेढ महिनाको समय दिँदै उक्त कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पठाएको थियो । त्यसपछि काममा सुधार देखिएको भैरहवा विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।
त्यसलगत्तै कम्पनीले कामदार पनि थपेको छ । अहिले दुई सय कामदार कार्यरत रहेको शर्माले समितिलाई जानकारी दिए । यसअघि ७० कामदार मात्र थिए । व्यवस्थापन परिवर्तन भएपछि काममा तीव्रता देखिएको शर्माको भनाइ छ ।
उनले समिति बैठकमा भने, ‘यही गतिमा काम हुने हो भने समय सीमाभित्र ८० प्रतिशत काम सम्पन्न हुने देखिन्छ ।’
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ ।
केही समयदेखि चिनियाँ कम्पनी आफैंले काम गरिरहेको छ । साना काममा मात्र नेपाली ठेकेदारहरुले जिम्मा पाउने गरेका छन् ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले चिनियाँ कम्पनीले पछिल्लो समय उपकरण थपिएको जानकारी दिए, जसका कारण काम अगाडि बढाउन केही सहज भएको उनको भनाइ छ ।
माटो र विद्युतको समस्या
समितिको बैठकमा नर्थ वेस्टका चिनियाँ कर्मचारी पनि उपस्थित थिए । उनीहरुले माटो र विद्युतको समस्या रहेको बताए । आयोजनाले त्यसका लागि तीन मेगावाटको डेडिकेटेड फिडर जोडिदिन प्राधिकरणसँग आग्रह गरेको छ ।
अहिले आयोजनालाई १५ हजार ट्रक माटो आवश्यक छ । कहाँबाट र कसरी ल्याउने भन्ने अलमलमा देखिन्छ, उक्त कम्पनी । सरकारी पहलको अपेक्षा गरे, चिनियाँ कर्मचारीले ।
ठेक्का तोडेर नयाँ कम्पनीलाई जिम्मा दिँदा लामो समय लाग्ने भएकाले सोही कम्पनीलाई कसरी काममा तीव्रता दिलाउने प्रयास भइरहेको शर्माले जानकारी दिए ।
सुरुमा विमानस्थल निर्माणका लागि नर्थ वेस्टले नेपाली कम्पनी नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच रकम लेनदेनमा विवाद आएपछि चिनियाँ कम्पनी आफैंले निर्माण गर्दै आएको छ ।
सोमबारको बैठकमा उपस्थित अधिकांश सांसदले निर्माण कम्पनीको पछिल्लो काम सन्तोषजनक रहेकाले त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
२०७४ असोज २३ गते १५:४१ मा प्रकाशित

जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ

२३ असोज, काठमाडौं । जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् ।


सेवाग्राहीसँग रकम मागेको सूचना आधारमा गएको अख्तियारको टोलीले खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।
२०७४ असोज २३ गते १५:०९ मा प्रकाशित

२१ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसामू पार्टी एकता गर्ने प्रस्ताव आफ्नो भएको बताएका छन् । साथै उनले एमाले र माओवादी एकताले अधिनायकवाद नजन्मने भन्दै भ्रम नपाल्न आग्रह गरेका छन् ।
शनिबार राजधानीमा आयोजित प्रशिक्षणमा प्रचण्डले पार्टी एकताले कसैले कसैलाई निल्ने विषय नभएको बताए ।
‘हाम्रा आ-आˆनै मान्यता र दृष्टिकोण छन्, त्यसमा अडिएर एकता हुँदैन’ उनले, हाम्रै प्रस्तावमा एकता प्रक्रिया आरम्भ भएको हो । यो फस्ने, फसाउने विषय होइन, हामी इमान्दार भएर अन्तिमसम्म एकताकै प्रक्रियामा जान्छौं ।’
वैचारिक, राजनीतिक मुद्धा र कार्यदिशामा एकरुपता कायम गरेर नयाँ पार्टी बनाउने उनले बताए ।
प्रचण्डले एमाले र माओवादीको चुनावी समीकरण र पार्टी एकता प्रयास कसैका विरुद्ध नभएको बताए । उनले भने, हाम्रो एकताले देशमा तत्कालै साम्यवादी शासन आउने होइन, अधिनायकवाद जन्मने पनि होइन । यसबारे कसैले भ्रम पाल्न जरुरी छैन ।’
संविधानले समाजवादउन्मूख राज्यको दिशानिर्देश गरेको भन्दै उनले हामी शान्तिपूर्ण र राजनीतिक प्रतिस्पर्धाकै माध्यमबाट समाजवादमा जाने बताए ।
२०७४ असोज २१ गते १८:०७ मा प्रकाशित (२०७४ असोज २२ गते ७:२९मा अद्यावधिक गरिएको)