Saturday, December 9, 2017

चुनाव जितेपछि प्रकाशमानले टेलिभिजनलाई हप्काए


   २३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं १ बाट चुनाव जितेको घोषणा हुँदैगर्दा रातको सवा २ बजेको थियो । त्यही बेला राष्ट्रिय सभागृहबाट लाइभ प्रसारण गरिरहेको एएटा निजी टेलिभिजनले उनको अन्तरवार्ता लिने प्रयास गर्‍यो ।
   एक चर्चित निजी टेलिभिजनका पत्रकारले प्रकाशमानज्यू तपाईलाई बधाइ छ भनेर कुराकानी सुरु गर्नासाथ सिंहले उक्त टेलिभिजनलाई गाली गर्न सुरु गरिहाले । चुनावका बेलामा सो टीभीले ‘बायस न्युज’ दिएको भन्दै प्रकाशमानले औलो ठड्याउँदै गाली गरे । र, पिठ फर्काएर हिँडे ।
लगत्तै प्रकाशमानलाई अर्को निजी टीभीका पत्रकारले भेटे । सो टीभीसँग चाहिँ सिंहले समान्यरुपमा कुरा गरे ।
नेपाली कांग्रेसलाई अब सुधार गरेर जनताको चाहना अपेक्षा अनुसार अगाडि बढाउने सिंहले बताए ।
सरकारले राम्रो परफरमेन्स गर्न नसकेको र कांग्रेसको नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको हुनाले कांग्रेसले चुनावमा सोचेजस्तो सफलता हासिल गर्न नसकेको सिंहले विश्लेषण गरे ।
अब आफूले वीपी, सुवर्ण र गणेशमानको भावना अनुसार कांग्रेसलाई अघि बढाउने उनले बताए ।
यसैवीच प्रकाशमान सिंहको जितसँगै राति नै देखि कांग्रेस कार्यकर्ताहरुले सभागृह अगाडि नारावाजी गरेर खुशीयाली मनाएका छन् ।

चुनाव सकिएलगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य


२२ मंसिर, काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पसबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ ।
   निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।
यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो ।
पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
त्यस्तै, चारली, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा मा खरिद गर्न पाउनेछन् ।
त्यस्तै, खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।
नयाँ मूल्य अनुसार निगमको मासिक घाटा अब ४० करोड रुपैयाँमा सीमित हुनेछ । हाल निगमको मासिक घाटा करीव एक अर्ब रुपैयाँ छ ।
नयाँ मूल्य अनुसार अब निगमलाई प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १४ रुपैयाँ ३६ नाफा हुनेछ । त्यस्तै, मूल्य बढेपनि निगमले प्रतिलिटर डिजेलमा २ रुपैयाँ ७१ पैसा घाटा व्यहोर्नुपर्नेछ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २२६ रुपैयाँ ७७ पैसा घाटा सहनुपर्नेछ ।
मूल्य बढाउँदा पनि नेपालमा कायम हुने मूल्य भारतको भन्दा डिजेलमा २३ रुपैयाँ ९९ पैसा र पेट्रोलमा १९ रुपैयाँ ४० पैसा सस्तो पर्नेछ ।
चुनावअघि पनि सरकारले इन्धनमा मूल्यवृद्धि गरेको थियो । तर, चुनावमा त्यसले मत प्रभावित हुने अवस्था आएपछि प्रधानमन्त्री शेरबहादुर देउबाको निर्देशमा मूल्यवृद्धि फिर्ता लिइएको थियो ।

मोरङ ६ मा लालबाबु पण्डितले शेखर कोइरालालाई हराए

२३ मंसिर, मोरङ । कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ ।
    कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् ।
केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् ।
लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सांसद पण्डितले मुलुक अव समृद्दिको बाटोमा अघि बढ्ने र देशले मुहार फेर्ने अपेक्षा व्यक्त गरे । साथै सबैलार्इ समेटेर अाफ्नो क्षेत्रको विकास गर्ने उनले प्रतिबद्दता व्यक्त गरे ।
नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् ।
विशेष गरी ०५१ साल र ०५६ सालको प्रतिनिधिसभाका सांसद रहेका पण्डित सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आए ।
सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चित बने । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था प्रारम्भ भयो ।

कहाँ कसले जिते ? कहाँ कसको अग्रता ? (सूचीसहित)

२३ मंसिर, काठमाडौं । देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म २४ सिटको नजिता आइसकेको छ ।
काठमाडौंकै पनि १, ३, ४, ८ को नजिता आइसकेको छ ।
प्रतिनिधिसभातर्फ
एमालेले जितेका क्षेत्र
१. खेम लोहनी धादिङ क्षेत्र नं. २
२. कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९
३. घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
४. शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २
५. यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १
६. जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८
७. लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
८. कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३
९. भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
१०. भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३
११. डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
१२. कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
१३. योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १
१४. गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
१५. धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
१६. लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
१७. गोपाल बम मुगु क्षेत्र नं. १
१८. भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
१९. भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
२०. प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १
२१. पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १
माओवादीले जितेका क्षेत्र 
१. अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १
२. पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३
३. देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २
४. जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १
५. कमला रोका रूकुम पूर्व क्षेत्र नं. १
नेपाली कांग्रेसले जीतेका क्षेत्र 
१. मोहन अाचार्य, रसुवा क्षेत्र नं. १
२. गगनकुमार थापा, काठमाडाैं क्षेत्र नं. ४
३. प्रकाशमान सिंह, काठमाडाैं क्षेत्र नं. १
४. राजन केसी,काठमाडाैं १०

स्वतन्त्रबाट वियजी उम्मेदवार
१ छक्कबहादुुर लामा, हुम्ला क्षेत्र नं. १

ललितपुर २ मा एमाले उम्मेदवार कृष्णलाल महर्जन विजयी


२३ मंसिर, काठमाडाैं । ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् ।
    महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने एमालेका कृष्णलाल चन्द्रसँगै पराजित भएका थिए । यसअर्थमा उनले यसपटक कांग्रेस र चन्द्रसँग बदलासमेत लिएका छन् ।
ललितपुरका अन्य दुर्इ क्षेत्रको मतगणना जारी छ ।

काठमाडौंमा हारेका योगेश भट्टराईले ताप्लेजुङबाट जित निकाले

२३ मंसिर, ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । काठमाडौंमा निर्वाचन जित्न नसकेका एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा अत्यधिक बहुमतले निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको एउटा र र प्रदेशसभाका दुई क्षेत्रहरु रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभामा बम गठबन्धनका साझा उम्मेदवार एमाले केन्द्रीय सचिव योगेश भट्टराई विजयी भएका छन् भने प्रदेशसभातर्फ (क) मा एमालेका जिल्लाअध्यक्ष बलबहादुर साम्सोहाङ र (ख) मा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् ।

एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाएका छन् भने दाहालले १६८८८ मत पाएका छन् ।
को हुन् योगेश ?
एमालेका युवा नेता भट्टराईको जन्म ०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उनले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।
भट्टराईले ०३७ सालदेखि अनेरास्ववियुको राजनीति थालेका हुन् । विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा बसेर काम गरेका भट्टराई अखिलका पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनी ०५१ सालमा अनेरास्ववियूको अध्यक्ष भएका थिए ।
नेकपा एमालेको जिल्ला कमिटी र अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य बनेका भट्टराई हाल एमालेको प्रचार विभाग प्रमुख एवं केन्द्रीय सचिव छन् ।
नेता भट्टराई यसअघि ०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र ०७० सालको दोस्रो चुनावमा पनि काठमाडौंबाटै उम्मेद्वार बनेका थिए । यसपटक भने प्रतिनिधिसभाको निर्वाचनमा उनी आफ्नै गृहजिल्ला ताप्लेजुङबाट उम्मेदवार बने र विजयी भए ।
भट्टराईलाई ताप्लेजुङ राम्रोसँग फापेको छ । उनका प्रतिस्पर्धी मानिएका कांग्रेस उम्मेदवार दाहाल यसअघि फुङ्लिङ नगरपालिकामा एमालेकै छत्रपति प्याकुरेलसँग पराजित भएका थिए ।
प्रदेशसभा (क) मा एमालेका बलबहादुर विजयी
ताप्लेजुङको प्रदेशसभातर्फ क्षेत्र नम्बर (क) बाट नेकपा एमालेका बलबहादुर साम्सोहाङ विजयी भएका छन् । उना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लीला बोखिमलाई ४४४३ मतान्तरले पराजित गर्दै साम्सोहाङ विजयी भएका हुन् ।
विजयी साम्सोहाङको १५४१७ मत पाएका थिए । पराजित बोखिमले १०९७४ मत पाएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।
यस्तै प्रदेशसभा (क) मा संघीय समाजवादीका भक्तबहादुर एङ्देनले १५८ मत पाए । राष्टिय जनमुक्ति पार्टीका बलबहादुर लिम्बुले १२२ मत पाए भने नयाँशक्ति पाटीका मानबहादुर गुरुले २६७ मत पाए । राप्रपा राष्ट्रवादीका गायत्रीप्रसाद थेबेले ८४ मत पाए ।
प्रदेशसभा (ख) मा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी
ताप्लेजुङको प्रदेशसभा (ख) मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङलाई ४६११ मतले पराजित गर्दै विजयी बनेका हुन् । विजयी आङ्बुहाङले १२१९८ मत प्राप्त गगरेका छन् भने कांग्रेसका सेन्दाङले ७५८७ मत प्राप्त गरे ।
विजयी आङ्बुहाङ यस अघि ६३ सालमा माओवादी केन्द्रका तर्फबाट अन्तरिम सांसद थिए । त्यसपछि भएका दुईवटा संविधानसभाको निर्वाचनमा उनी पराजित भएका थिए । यसपालि उनी केन्द्रको राजनीति छाडेर प्रदेशमा झरेका छन् ।
प्रदेश (ख) मा संघीय समाजवादी फोरमका सुकवीर लिम्बुले २३८ मत पाएका छन् । त्यस्तै राप्रपा राष्ट्रवादीकी सपना सामेखामले ८३ मत पाएकी छिन् । राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार लिम्बले २२२ मत पाएका छन् भने नयाँशक्ति पार्टीका विशाल लिम्बूले १०६ मत पाएका छन् ।

कांग्रेसद्वारा काठमाडौं ५ को मतगणना बहिस्कार, पुनः मतगणना गर्न माग

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना बहिस्कार गरेको छ । उसले दुई केन्द्रको मत गणना गर्न माग गरेको छ । काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा छन् । तर, अरु क्षेत्रको परीणाम आइसक्दा पनि यहाा भने पटकपटक विवाद भएको छ । पछिल्लो पटक कांग्रेसले बहिस्कार गरेको छ । उसले केही स्थानको मतगणना गर्न माग गरेको छ र निवेदन समेत दिएको छ । कांग्रेसले नारायणस्थन सत्तल क र विष्णुपादुकका मन्दिर क मा मत बढी भेटिएको बताएको छ भने गुठीघर सत्तल क, युनिर्भसल ख, सरस्वती मावि टोखाको ख मतदान केन्द्रमा निर्वाचना अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएको बताएको छ ।