Friday, October 13, 2017

WELCOME TO NEPAL: ताप्लेजुङमा फेला पर्‍यो समयअगावै उत्पादन भएको बोत...

WELCOME TO NEPAL: ताप्लेजुङमा फेला पर्‍यो समयअगावै उत्पादन भएको बोत...: २७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा समयअगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ । बिहीबार बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन...

ताप्लेजुङमा फेला पर्‍यो समयअगावै उत्पादन भएको बोतलको पानी

२७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा समयअगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ ।
बिहीबार बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड झापाद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीका उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो ।
पिउने पानीको बोतलमा उल्लेख गरिएको उत्पादन मिति आउन अझै ३ महिना बाँकी रहेको फेला परेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले सन् २०१८ को जनवरी महिना आउन तीन महिना बढी समय बाँकी छँदै उक्त मितिमा उत्पादन भएको पानीका बोतल बिक्री वितरणमा आएको फेला परेको जानकारी दिँदै अनुसन्धान थालिएको बताए ।
अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले म्याद गुज्रेका अन्य अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको र मिति नै फरक पर्ने गरी बजारमा आएको पानीका बोतल जफत गरी अनुसन्धान थालिएको जानकारी दिए ।
उत्पादन मिति सन् २०१८ जनवरी महिना उल्लेख गरिएको पानीको बोतलमा प्रयोग अवधि भने ६ महिनाको उल्लेख छ । सहायक प्रजिअ मादेनले दशैं अगाडिदेखि नियमित बजार अनुगमन गर्दै आएको र यस्तो त्रुटि भएको उपभोग्य वस्तु पहिलोपटक फेला परेको बताए ।
बजार अनुगमनका क्रममा म्याद गुज्रेका प्रशस्तै उपभोग्य सामग्री फेला परेको छ । कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटीजस्ता पेयपदार्थहरु म्याद गुज्रेको पाइएको सहायक प्रजिअ मादेनले जानकारी दिए । त्यस्तै बिस्कृट, भुजिया, थुक्पा, आँटा, मैदालगायतका खाद्य सामग्री पनि म्याद गुज्रेको पाइएको छ ।

इतिहास मेटाएर गाडी पार्किङ

२७ असोज, काठमाडौं । ऐतिहासिक पुरातात्विक वस्तु, सम्पदा र अभिलेखको संरक्षण गर्नु राज्यको दायित्व हो । तर, यतिबेला नेपालका इतिहासको प्रमाण दिने अभिलेखको बचाउका लागि सिंहदरबारस्थित राष्ट्रिय अभिलेखालयले सरकारसँगै हारगुहार गरिरहेको छ ।
यो अभिलेखालय सरकारकै एउटा अंगको रुपमा छ । तर, आफ्नो अस्तित्व र महत्व जोगाउन यसले राज्यसँग नै पौंठेजोरी खेल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सरकारले महत्वपूर्ण प्राचीन अभिलेखहरुलाई संग्रह र संरक्षण गरिएको यो अभिलेखालय सार्ने निर्णय गरेको छ । यसैका कारण अभिलेखालयमा रहेका २५ प्रतिशत अभिलेखहरु अस्तित्व मेटिने जोखिममा छन् ।
भवन सार्ने सरकारी निर्णयले आफूहरु अन्योलमा परेको अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानांग बताउँछिन् ।
‘हामीसँग अत्यन्तै पुराना भोजपत्र तथा ताडपत्रसहितका संवेदनशील अभिलेखहरु छन् । कतिपय हल्लाउँदा मात्रै पनि च्यातिएका भाग धुजा–धुजा भएर जान्छन्,’ प्राधानांग भन्छिन्, ‘यो भवनबाट तिनलाई सार्ने हो भने संरक्षित एक चौथाइ अभिलेखको अस्तित्व नै मेटिन सक्छ ।’
२०२४ सालमा वीर पुस्तकालय रहेका प्राचीनकालदेखिका महत्वपूर्ण संरक्षित अभिलेखहरुलाई संग्रहित गरेर राष्ट्रिय अभिलेखालय स्थापना भएको थियो ।
त्यतिबेलै निकै संवेदनशील अवस्थामा भेटिएका अभिलेखलाई यहाँ विभिन्न प्रविधि प्रयोग गरी जस्ताको तस्तै राखिएको छ । अभिलेख नसडुन्, नबिग्रिउन् भन्ने हेतुले अभिलेख राखिएका कोठाहरुको आद्र्रता नियन्त्रण गर्न प्रविधि जडान गरिएको छ । कोठाहरुको तोकिएको वैज्ञानिक तापक्रम फरक पर्दा ढुसी लाग्ने जोखिम हुन्छ ।
‘कतिपय त हामीले हातमा लिन पनि नमिल्ने अवस्थामा छन् । कतिपयलाई हामीले भर्खर जन्मिएको शिशु हातमा लिएभन्दा बढी संवेदनशील भएर उठाउनुपर्छ,’ प्रधानांग भन्छिन्, ‘अब यति महत्वपूर्ण अभिलेख कसरी अर्को भवनमा सार्न सकिएला ? यी नष्ट भए भने हाम्रो इतिहास नै मेटिएसरह हुनेछ ।’
सोही कारण अभिलेखालय सार्ने कुरा गर्नै नहुने काम रहेको उनको भनाइ छ । सार्नैपर्ने अवस्था भए १५ वर्ष समय दिनुपर्ने अभिलेखालयको माग छ ।
‘अभिलेखालय सार्ने विषय हामी कोठा सरेजस्तो होइन । हामीले बनाउने अभिलेखालय भवन अर्को सय वर्ष जस्तो विपद्मा पनि टिक्नेगरी बनाउनुपर्छ,’ उनी भन्छिन्, ‘अभिलेखलाई कम जोखिम हुने गरी सार्ने हो भने भवन बनाउन सुरु भएको अवधिबाट १५ वर्ष लाग्छ ।’

संवेदनशील हजारौं अभिलेखलाई ‘एन्टी एसेटिक’ कागजले पछाडिबाट सपोर्ट दिएर जोगाइएको छ । सार्दा च्यातिने मात्रै नभएर अभिलेख हराउने, साटिने जोखिम पनि उच्च छ । अहिले उच्च सुरक्षाका प्रबन्धका बीच सीसीटीभीमार्फत् यिनीहरुको निगरानी भइरहेको छ ।
इतिहास मासेर गाडी पार्किङ !
सर्वोच्च अदालतको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अभिलेखालयको भवन र १३ रोपनी जग्गा सर्वोच्च अदालतलाई दिने निर्णय गरेको छ । सर्वोच्च प्रशासनका अनुसार अभिलेखालय हटेपछि त्यस क्षेत्रमा बगैैँचा र पार्किङस्थल राख्नेगरी गुरुयोजना बनिरहेको छ ।
यो जग्गा अघिल्लो भागमा रहेकाले यसमा महत्वपूर्ण भवन नबन्ने निश्चित भएको दाबी सर्बोच्च स्रोतको छ ।
सरकारले उपलब्ध गराएको जग्गाका आधारमा आफूहरुले पूर्वाधारको ‘मास्टरप्लान’ बनाइरहेको र कहाँ के बन्छ भन्ने निक्र्योल त्यसैले गर्ने सर्वोच्चका कामु रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय बताउँछन् ।
२५ वैशाख ०७१ को मन्त्रिपरिषद् बैठकले अभिलेखालय सारेर त्यो जग्गा सर्वोच्चलाई दिने र त्यसको साटो अभिलेखालयलाई नारायणहिटी दरबार क्षेत्रमा नयाँ भवन बनाउन जग्गा दिने निर्णय गरेको थियो । त्यतिबेला पुरातत्व विभागको राय नलिई सीधै उक्त निर्णय भएको थियो ।
सर्वोच्चले अभिलेखालयसँगै रहेको सेनाको घोडचढी पल्टनको १७ रोपनी जग्गा भने पाइसकेको छ ।
२२ भदौ ०७१ मा मन्त्रिपरिषद्ले नै नारायणहिटीको जग्गा अभिलेखालयलाई नदिने अर्को निर्णय गर्‍यो  ।
त्यसपछि सर्वोच्चले अभिलेखालय हटाउन आग्रह गर्‍यो  । तर, महत्वपूर्ण र संवेदनशील प्राचीन अभिलेख कहाँ लगेर राख्ने भन्ने विषयले अभिलेखालय समस्यामा पर्‍यो  ।
अहिलेसम्म सरकारले अभिलेखालयलाई भवन बनाउन जग्गा उपलब्ध गराउने निर्णय गरेको छैन ।
सर्वोच्चले भने आफ्नो स्वामित्वमा आइसकेको जग्गा प्राप्तिका लागि अभिलेखालयलाई दबाब दिइरहेको छ । यो अवस्थामा अभिलेखालयलाई के गर्ने भन्ने अन्योल कायम छ ।

के–के छन् अभिलेखालयमा ?

अध्ययन, अनुसन्धानधाता र सरोकारवालालाई पुराना अभिलेखहरुमा सहज पहुँच पुर्‍याउने उद्देश्यले राष्ट्रिय अभिलेखालय स्थापना भएको हो ।
यसको मुख्य भवन भारत सरकार र माइक्रो फिल्म संग्रहित भवन जर्मन सरकारको सहयोगमा बनेका हुन् ।
नेपालको इतिहास र संस्कृतिको अकाट्य स्रोतको रुपमा रहेका अभिलेखात्मक सम्पदाका थुप्रै विधासँग सम्बन्धित अभिलेखहरु यसमा संग्रहित छन् ।
सातौं–आठौं शताब्दीदेखि २०औं शताब्दीसम्मका विभिन्न भाषा, लिपिको प्रयोग गरी ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, पुराण, दर्शन, तन्त्र, कर्मकाण्ड, साहित्य, व्याकरण, इतिहासलगायत विषयसँग सम्बन्धित ग्रन्थहरु, ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज, थ्यासफु आदि अभिलेख संकलित छन् ।

यहाँ नेवारी, प्राकृत, उत्तर लिच्छवि लिपि, तिब्बती, पाली, संस्कृतलगायत भाषा तथा नेपाली कागजमा देवनागरी, रञ्जना, बंगाली र मैथिली लिपिमा लेखिएका लाखौं अभिलेख छन् ।
यहाँ सन् ८१० को उत्तरलिच्छवी लिपिमा लेखिएको स्कन्दपुराण, आठौं शताब्दीकै ताडपत्रमा लेखिएको सद्धर्मपुण्डरिकसूत्र, ११ औं शताब्दीको पाली भाषामा ताडपत्रमा लेखिएको विनयपिटक यहीं छन् ।
यस्तै, नेपालमा प्राप्त कागजमा लेखिएको सबैभन्दा पुरानो हस्तलिखित ग्रन्थको रुपमा परिचित १२औं शताब्दीमा शारदा लिपिमा लेखिएको कारण्यव्यूहसूत्र पनि अभिलेखालयमा संरक्षित छ ।
सन् १३८० को जयस्थिति मल्लको वैधानिक कानुन ‘न्यायविकासिनि’, संसारकै प्राचीन लिखित कानून मानिने मानवधर्मन्यायशास्त्र पनि अभिलेखालयमा छन् ।
नेपाल संवत् २८ को आयुर्वेद सम्बन्धि ग्रन्थ लंकावतार, नवौं शताब्दीको शैवतन्त्रसम्बन्धी ग्रन्थ निश्वासतत्वसंहिता पनि संरक्षित छन् । यो यूनेस्कोले ‘मेमोरी अफ दी वल्र्ड हेरिटेज’को सूचीमा सूचीकृतसमेत गरेको एक मात्र नेपाली दस्तावेज हो ।
‘हामीसँग आदिम कालका विश्वमै प्रसिद्धी कमाएका ग्रन्थहरु, संसारले नै गौरव गरेका र अमूल्य सम्पत्ति मानेका धेरै प्राचीन दस्तावेजहरु छन्,’ प्रमुख प्रधानांग भन्छिन् ।
अभिलेखालयमा २० हजारभन्दा बढी हस्तलिखित ग्रन्थका मूल प्रतिहरु छन् । करिब २० हजार ऐतिहासिक चिठ्ठीपत्र, आठ हजार तिब्बती ग्रन्थहरु छन् ।

त्यसैगरी विभिन्न गुम्बा, व्यक्ति, प्रशासकलगायतका घरमा रहेका मूल ग्रन्थ र दस्तावेजका एक लाख ८० हजार माइक्रोफिल्म पनि अभिलेखालयले राखेको छ । करिब १२ हजार पुराना महत्वपूर्ण पुस्तकहरु पनि यहाँ छन् ।
राष्ट्रिय अभिलेखालय अभिलेखालय ऐन २०४६ अनुसार नेपाल सरकारको रेकर्ड व्यवस्थापन गर्ने एक मात्र आधिकारिक कार्यालय हो, राष्ट्रिय अभिलेखालय ।
अभिलेख संरक्षण ऐनअनुसार नेपाल सरकारअन्र्तगतका विभिन्न निकायले आफूले सिर्जना गरेका २५ वर्ष पुराना महत्वपूर्ण अभिलेख संरक्षण र व्यवस्थापन गर्न राष्ट्रिय अभिलेखालयमा पठाउनुपर्छ ।
अभिलेखालयले राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वका लाखौं अभिलेख संकलन, संरक्षण र भण्डारणलाई तीव्र बनाउँदै लगेको छ । महत्वपूर्ण अभिलेखको माइक्रोफिल्म तथा डिजिटल रेकर्ड तयार गर्ने गरिएको छ ।
पृथ्वीनारायण शाहको दिव्योपदेशको हस्तलिखित प्रतिदेखि स्याहामोहर, लालमोहर, रुक्का, इस्तिहार, सन्धिपत्र, चिठीपत्र, खड्गनिशान, सनद, सवाल, इच्छापत्रलगायत दस्तावेज यहाँ छन् ।

अभिलेखालयमा पुराना कानुन, संविधान, निजामति कर्मचारीका सिटरोल, हुलाक टिकट, परराष्ट्रको अभिलेख, नेपाली पत्रपत्रिकाका सुरुवाती अंकहरु पनि छन् ।
‘सर्वोच्चले विकल्प खोजोस्’
यस्तो ऐतिहासिक महत्वको अभिलेखालय अब भाडाको भवनमा सर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै पुरातत्वविद पनि चिन्तित छन् ।
‘छुँदैमा धुलो हुने दस्तावेजको संरक्षण गर्नुपर्ने विषयमा सरकार उदासिन हुन मिल्दैन,’ पुरातत्वविद प्रकाश दर्नाल भन्छन्, ‘बरु, सर्वोच्चले विकल्प खोज्नुपर्छ । तर, अभिलेखालय सार्ने कुरा कच्चा र जोखिमयुक्त हो ।’

भूकम्पको समयमा पनि अभिलेखालय सुरक्षित रहेको स्मरण गराउँदै त्यसको विकल्पमा सोचिहाल्ने अवस्था नरहेको उनी बताउँछन् ।
केही दिनअघि अभिलेखालयको स्वर्ण जयन्ती समारोहमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले संग्रहहरुको निरीक्षण गरेका थिए । सोही कारण अभिलेखालयको अस्तित्व जोगाउन प्रधानमन्त्रीले केही गर्लान् की भन्ने पुरातत्व अधिकारीहरुको अपेक्षा देखिन्छ ।

कांग्रेससँग चुनावअघि नै एकता हुनसक्छः गच्छदार

२७ असोज, विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् ।
उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी हुने बताए ।
उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन प्रतिवद्ध रहेको भन्दै ढुक्क रहन सबैलाई आग्रह गरे ।
राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भएअनुसार नै प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको उनको भनाइ थियो ।

संसदको विशेष बैठक भोलि, बाटो खर्च दिएर सांसदहरुलाई विदा गरिने

२७ असोज, काठमाडौं । व्यवस्थापिका संसदका ५९२ सांसदहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व हुने भएका छन् । बिजनेसका हिसाबले संसदको शुक्रबारको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक राखिएको छ, जहाँ सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ ।
सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताए । बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए ।
यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।
संसद बिघटनअघि यो संसदको अन्तिम विजनेश बैठक आज शुक्रबार बस्दैछ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिएको छ । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक सम्वधासम्बन्धी बिधेयक पनि बैठकले पारित गर्ने कार्यसूती छ ।
चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास भइरहेको छ । यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यायदेशबाट ल्याउनुपर्नेछ ।
संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।
यातायात खर्च पाउने
४ वर्षअघि २०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते मध्यराति १२ बजेबाट निवर्तमान हुनेछन् । उनीहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा पाउने संसद सचिवालयका प्रवक्ता गौतमले बताए ।
यसअघिको प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरुलाई यातायात खर्च भने दिइनेछ ।

भारत त्रसित, अमेरिका अलमलमा, युरोप मौन

२७ असोज, काठमाडौं । नेकपा एमालेसँग माओवादी केन्द्र र नयाँशक्ति पार्टीले अप्रत्याशित गठबन्धन बनाएपछि भारत, अमेरिकाका साथै पश्चिमा मुलुकका कूटनीतिज्ञहरु सघन छलफलमा जुटेका छन् । यो अप्रत्याशित गठबन्धनबाट भारत त्रशित बनेको छ भने अमेरिकी दूताबास केही प्रश्नको उत्तर खोज्नतिर लागेको छ । युरोपेली संघका कूटनीतिज्ञहरुचाहिँ भारत र अमेरिका भन्दा कम तरंगित देखिएका छन् ।
 बेइजिलाई मुछ्ने भारतीय प्रयास
सूत्रहरुका अनुसार एमाले र माओवादीवीच हठात गठबन्धन र पार्टी एकताको समेत समझदारी बनेको सुनेपछि भारतीय सत्तारुढ वर्ग आश्चर्यमा परेको छ ।
यो गठबन्धनलाई रोक्न सकिएन भने नेपालमा राष्ट्रवादी शक्ति बलियो हुने र चलखेल गर्न नपाइने निश्कर्ष निकालेको भारतले यो वाम गठबन्धनमा बेइजिङको हात रहेको प्रचार अन्तरराष्ट्रिय समुदायमा गर्न थालेको बुझिएको छ ।
सूत्रहरुका अनुसार नेपालमा वाम गठबन्धनको घोषणा हुनासाथ दशैंकै बेला भारतीय खुफिया एजेन्सीका एकजना उच्चस्तरीय व्यक्ति सुटुक्क नेपाल आएका थिए । उनलाई साथमा लिएर नेपालका लागि भारतीय राजदूतले नेपाली सेनाका एक उच्च अधिकारीका साथै अमेरिकी दूताबासका अधिकारीसँग समेत बेग्लाबेग्लै छलफल गरेर फर्केको स्रोतको भनाइ छ ।
भारतले यो वाम गठबन्धनमा चीनको हात रहेको प्रचारबाजी अमेरिका र पश्चिमा पुँजीवादी मुलुकसम्म गर्न चाहेको छ । यसो गर्दा कम्युनिष्टविरोधी अमेरिकालाई समेत वाम गठबन्धन रोक्ने अभियानमा तान्न सकिने भारतीय दूताबासको ठम्याइ हुन सक्छ
नेपालमा आफ्नो प्रभाव कायम राख्न चाहने भारतले एमाले नेतृत्वको गठबन्धनलाई बलियो हुन नदिने नीति लिँदै आइरहेको थियो । साथै उसले नेपालमा चिनियाँ प्रभाव बढेको आरोप लगाउँदै आएको थियो ।
यसै सन्दर्भमा वाम गठबन्धनको घोषणापछि उसले अब नेपालमा भारतीय प्रभाव झनै कमजोर बन्ने निश्कर्ष निकालेको विश्लेषकहरु बताउँछन् । र, यसलाई रोक्ने उपायको खोजीमा भारतीय पक्ष सक्रिय रहेको काठमाडौंमा विश्लेषण गर्न थालिएको छ ।

यही सिलसिलामा भारतले यो वाम गठबन्धनमा चीनको हात रहेको प्रचारबाजी अमेरिका र पश्चिमा पुँजीवादी मुलुकसम्म गर्न चाहेको छ । यसो गर्दा कम्युनिष्टविरोधी अमेरिकालाई समेत वाम गठबन्धन रोक्ने अभियानमा तान्न सकिने भारतीय दूताबासको ठम्याइ हुन सक्छ ।
तर, अहिले बनेको वाम गठबन्धनमा आफ्नो कुनै हात नरहेको नेपाल स्थित चिनियाँ दूताबासका अधिकारीहरुले विभिन्न दलका नेताहरुलाई भेटेर स्पष्ट पारिसकेका छन् ।
चीनका लागि पूर्वराजदूत टंक कार्की वाम एकतामा बेइजिङको कुनै हात नरहेको बताउँछन् । उनी भन्छन्, ‘यही कुरा चिनियाँ राजदूतले पनि बोलिसक्नुभएको छ ।’
तर, वाम एकीकरण घोषणापछि भारतीय पक्ष चुप लागेर बसेको छैन भन्ने बुझ्न नयाँदिल्लीमा नेपाल मामिलाका जानकार एसडी मुनीलगायतको पछिल्ला अभिव्यक्तिबाट स्पष्ट हुने उनी बताउँछन् । उनी भन्छन्, ‘यो नेपालको आन्तरिक मामिला हो र आन्तरिक बचनवद्धता रहेसम्म बाह्य पक्षको सन्तुष्टि या असन्तुष्टिको कुनै अर्थ रहँदैन ।’
चुनाव सार्ने प्रयास
सूत्रहरुका अनुसार वाम गठबन्धनबाट आत्तिएको भारतले विगतमा संविधान घोषणालाई रोक्न खोजेजस्तै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव रोक्ने र संसदको आयु लम्याउने सोचाइ बनाएको छ । र, उसले यही कुरा अमेरिकी दूताबासका अधिकारीलाई समेत भनेको छ । चुनाव सार्न सकियो र संसदको आयु थप्न सकियो भने वामपन्थी प्रभाव रोक्न सकिने भारतीय अधिकारीहरुको निश्कर्ष रहेको बुझिएको छ ।
वाम तालमेलपछि काठमाडौंमा बसेको कूटनीतिज्ञहरुको एउटा अनौपचारिक बैठकमा अमेरिकी कूटनीतिज्ञले प्रश्न गरेका थिए कि यो चुनाव सार्दा के हुन्छ ? चुनाव सार्दा आउन सक्ने राजनीतिक परिघटना के–कस्तो होला ?
युरोपेली संघ, जर्मनी, नेदरल्याण्डलगायतका देशबाट नेपालमा नयाँ राजदूतहरु आएका छन् । स्वीस राजदूत पनि फेरिन लागेका छन् । नयाँ राजदूतहरुले नेपालको परिस्थितिबारे अध्ययन गरिरहेका छन्
अमेरिकी अधिकारीहरुको यस्तो प्रश्नका पछाडि कतै भारतीय राजदूतले चुनाव सार्ने र वाम प्रभाव रोक्ने अस्त्रबारे उनीहरुसँग प्रस्ताव राखेको त छैन भन्ने प्रश्न उब्जेको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।
अमेरिकी कूटनीतिज्ञले जस्तै युरोपेली कूटनीतिज्ञले पनि यस्तै प्रश्न सोध्ने गरेका छन् । संविधानले नै माघ ७ गतेभित्र चुनाव गरिसक्नुपर्ने समयसीमा तोकेका कारण त्यसलाई टार्न नसकिने जानकारी कतिपय नयाँ राजदूतहरुले पाएका छैनन् ।
युरोपेली संघ, जर्मनी, नेदरल्याण्ड लगायतका देशबाट नेपालमा नयाँ राजदूतहरु आएका छन् । स्वीस राजदूत पनि फेरिन लागेका छन् । नयाँ राजदूतहरुले नेपालको परिस्थितिबारे अध्ययन गरिरहेका छन् ।
तथापि वामपन्थी जनमतप्रति अमेरिका र भारत जति आक्रामक छन्, युरोपेलीहरु त्यति धेरै आक्रामक देखिँदैनन् । एमाले र माओवादीवीच पार्टी एकता भएमा कम्युनिष्ट पार्टीको नाम परिवर्तन भएर सोसल डेमोक्रेटिक हुन सक्ने कतिपय युरोपेली राजदूतले अपेक्षा गरेको सूत्रहरुको दाबी छ ।
पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीचाहिँ वाम एकतामा चीनको नभएर भारतको हात रहेको दाबी गर्छन्
नेपालमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा युरोपेली देशहरुले सकारात्मक भूमिका खेलेका कारण उनीहरु माओवादीको लोकतान्त्रीकरणप्रति अमेरिकाभन्दा बढ्ता सकारात्मक रहेको स्रोतले बतायो ।
पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीचाहिँ वाम एकतामा चीनको नभएर भारतको हात रहेको दाबी गर्छन् । उनी भन्छन्– ‘चीनले भनेर प्रचण्डले पत्याउने स्थिति नै छैन । त्यसैले प्रचण्ड र बाबुरामलाई पठाएर एमालेलाई प्रो इण्डियन बनाउने उद्देश्यले यो वाम एकता रचिएको हो ।’
यो पनि पढ्नुहोस्
एमाले ‘प्रो इण्डियन’ बन्छ, ओली कमजोर हुन्छन्

माओवादी नेता विष्टद्वारा पार्टी परित्याग

२७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् ।
नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।
माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेका हुन् ।
हिजोको क्रान्ति केका लागि थियो भन्ने जनताको प्रश्नको जवाफ पार्टीमै रहिरहेर दिन सक्ने अवस्था नभएको भन्दै उनले आफू सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेको बताए ।
अनलाइनखबरसँग कुरा गर्दै नेता विष्टले अध्यक्ष प्रचण्डलाई संकेत गर्दै आजीवन कुर्चिमा बस्नु सह्य नभएको समेत बताए ।
उनले पार्टी भित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको फोहोरी खेलले जनतामा बितृष्ण जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता हराएको लगाएकोे आफू पार्टीमा बस्न नसकेको बताए ।

पार्टी परित्याग गरेका नेता विष्टले पहिलो कारण पार्टी पद्धती भएको बताएका छन् । उनले पार्टीभित्र सधैभरी कुर्चिमा बसिरहनुपर्ने बनाउने भन्दा पनि भत्काउनेमा जोड दिइएको आरोप लगाएका छन् ।
यस्तै पछिल्लो समय एमाले माओवादी लगायतका दलहरुबीच भएको गठबन्धनलाई आफ्नो पार्टी परितयागको सहायक कारण भएको विष्टले बताए । ‘क एमाले र ख एमाले (माओवादी)बीच गठबन्धन हुनु नयाँ कुरा होइन’ उनले भने,’त्यो मुख्य कारण होइन, सहायक हो ।’

पलले १८ लाख डिमाण्ड गरेको चलचित्र किन छाडे ?

नायक पल शाहले चलचित्र ‘अनुराग’का लागि १८ लाख रुपैयाँ डिमाण्ड गरेको समाचार केही दिन अगाडि बाहिरिएको थियो । तर, अहिले पलले यो चलचित्र नखेल्ने भएका छन् । पलको ठाउँमा नयाँ नायक फाइनल गरिसकिएको छ ।
आखिर, १८ लाख डिमाण्ड गरेको चलचित्र पलले किन छाडे ? सत्यराज चौलागाइको निर्देशनमा बन्न लागेको यो लभ स्टोरी चलचित्रमा सुरुवातमा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले मोडल दीपक घिमिरेसँग रोमान्स गर्ने तय भएको थियो ।
तर, चलचित्र घोषणा भएको केहि दिनमै दीपक चलचित्रबाट निकालिएको घटना बाहिरियो । यसको केहि दिनमै नायक पल शाहले १८ लाख रुपैयाँ लिएर चलचित्र खेल्न लागेको चर्चा भयो ।
तर, अहिले यो चलचित्रमा पल शाह पनि नहुने भएका छन् । चलचित्रका लागि नयाँ नायकलाई अनुवन्धित गरेर वर्कशपको काम चलिरहेको छ । पलले चलचित्रको कथाको अन्तिम ड्राफ्ट मागेका थिए । तर, त्यो अगाडि नै पल र एलिजा रोमान्स गर्न लागेको खबर बाहिरिएपछि पलले चलचित्र छाडेको वुझिएको छ । चलचित्रका निर्देशक सत्यराज चौलागाइले भने-‘पलले अभिनय गर्न लागेको चलचित्र ‘शत्रु गते’ र यो चलचित्रको छायांकन समय जुधेकाले काम गर्न नसकिएको हो ।’
तर, जे भएपनि पलले ‘म यस्तो गीत गाउँछु’ हिट भएर ‘जोनी जेन्टलम्यान’ असफल हुँदा पनि आफ्नो पारिश्रमिक निकै बढाएको प्रष्ट छ । अब, हेरौ पलले नयाँ चलचित्रका लागि कति डिमाण्ड गर्ने हुन् ?

वाम एकताबारे राधाकृष्णको भविश्यवाणी– एमाले ‘प्रो इण्डियन’ बन्छ, ओली कमजोर हुन्छन्

२७ असोज, काठमाडौं । वामपन्थी नेता राधाकृष्ण मैनालीले माओवादी र एमालेवीच पार्टी एकता भएको खण्डमा केपी ओलीको राष्ट्रवादी धार कमजोर हुने र सिंगै एमाले ‘प्रो इण्डियन’ बन्ने भविश्यवाणी गरेका छन् ।
वाम एकताबारे अनलाइनखबरले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री मैनालीले भने– ‘मेरो विचारमा भारतको म्यान्डेट लिएर नै केपी ओलीलाई कमजोर पार्नका लागि यो वाम एकता गर्न लागिएको हो । यो एकतापछि पार्टीभित्र प्रचण्ड, बाबुराम र माधव नेपाल बलिया हुन्छन् र केपी ओलीको धार कमजोर हुन्छ ।’
एकीकृत पार्टीभित्र प्रचण्ड, बाबुराम र माधव नेपाल पक्ष हावी भएपछि एमाले अहिलेको राष्ट्रवादी धारबाट भारतपरस्त धारमा फेरिने मैनालीको विश्लेषण छ ।
केपी ओलीलाई कमजोर बनाएर सिंगो पार्टीलाई ‘प्रो इण्डियन’ बनाएको खण्डमा भारतलाई ठूलो फाइदा हुने मैनालीले तर्क गरे ।
नेपाली कांग्रेस कमजोर हुँदै गइरहेकाले भारतले ओलीलाई घेराऊ गर्न र कमजोर बनाउनका लागि बाबुराम–प्रचण्डलाई एमालेमा पठाउन लागेको मैनालीले दाबी गरे ।
अहिलेको वाम एकता चीनले भनेर गर्न लागिएको नभई भारतको सल्लाहमा हुन लागेको मैनालीको तर्क छ । उनले अनलाइनखरसँग भने– ‘चीनले भन्दैमा प्रचण्डले मान्ने भए उनले केपी ओलीको सरकार ढालेर कांग्रेससँग गठबन्धन नै गर्ने थिएनन्, प्रचण्ड चीनले भनेर मान्दैनन् । भारतले संकेत नगरी यो वाम एकताको पहल भएको होइन ।’

संसद विघटनको संघारमा साना पार्टी छताछुल्ल (सूचीसहित)

२७ असोज, काठमाडौं । व्यवस्थापिका संसद विघटन हुनै लाग्दा साना दलहरु ठूला दलमा विलय हुने क्रम बढेको छ । कतिपय दलका सांसदहरु पदावधि सकिनै लागेपछि राजनीतिक भविष्य सुरक्षित गर्न ठूला दलमा प्रवेश गर्न थालेका छन् ।
थ्रेसहोल्डका कारण अब साना दलहरुको अस्तित्व समाप्त हुने भएकाले चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर भएका हुन् ।
अखण्ड नेपाल पार्टी, खम्बुवान र नेपाः राष्ट्रिय पार्टी बाहेक अरु एक वा दुईजना सांसद भएका अधिकांश पार्टीहरु एमाले, माओवादी र फोरम लोकतान्त्रिकमा विलय भएका छन् ।
पछिल्लो पटक ३ सिट रहेको नेकपा संयुक्त माओवादी केन्द्रमा विलय भएको छ ।
त्यस्तै दुई सिट रहेको नेपाल परिवार दल र एक सिट रहेको मधेस समता पार्टी एमालेमा विलय भएका छन् ।
संसदमा एक सिट रहेको नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले पनि एमालेलाई साथ दिएका छन् । तर, उनको पार्टी भने एमाले प्रवेशको विपक्षमा रहेको छ ।
अर्को मधेस केन्द्रित दल दलित जनजाति पार्टी पनि एमालेमा विलय हुने तयारीमा छ । सो पार्टीका अध्यक्ष तथा सांसद विश्वेन्द्र पासवानले आफू एमालेबाट चुनाव लड्ने तयारीमा रहेको स्वीकार गरे ।
एक/एक सिट रहेका समाजवादी जनता दल र लोकदल माओवादीको चुनाव चिन्हबाट आगामी चुनावमा भाग लिने निर्णयमा पुगिसकेको जनता दलका नेता प्रेमबहादुर सिंहले बताए ।
यसअघि नै जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई सांसद शिवलाल थापा र सीमा विश्वकर्मा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा बिलय भइसकेका छन् । सांसद यशोदा लामाले पनि आफ्नो पार्टी फोरम लोकतान्त्रिकमा विलय गराइसकेकी छन् । थरुहट नेता गोपाल दहित पनि विजय गच्छदारको पार्टीमा लागिसकेका छन् ।
फोरम लोकतान्त्रिक आफैं पनि कांग्रेसमा समावेश हुने चर्चा चलिरहेको छ । मधेस केन्द्रित दलहरुमध्ये ६ वटा दल मिलेर राजपा बनिसकेको र मधेस समता पार्टी तथा दलित जनजाति पार्टी एमालेमा विलय भएपछि अब मधेसवादी पार्टीको संख्या घटेको छ ।
राजपाबाट विद्रोह गरेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् ।
मधेसमा अब राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकको मात्र क्षेत्रीय पार्टीका रुपमा अस्तित्व देखिएको छ । थारुका पार्टीमध्ये गंगा चौधरी सतगौवा सांसद रहेको संघीय थरुहट पार्टी नयाँ शक्तिमा विलय भइसकेको छ ।
अब रुक्मिणी चौधरी सांसद रहेको थरुहट पार्टीले निर्णय गर्न बाँकी छ । अहिलेसम्म कुनै पनि दलमा बिलय भइनसकेका एक सिटे दलमा रामकुमार राई सांसद रहेको खम्बुवान पार्टीले नेपा: पार्टीको चुनाव चिन्ह खड्ग लिएर आदिवासी जनजातिहरुको पार्टी बनाउने पहल थालेको छ ।
रिजवान अन्सारीले नेतृत्व गरेको मधेसी फोरमले सांसद हरिचरण शाह नेतृत्वको नेपाली जनता दलको चिन्हबाट हालै स्थानीय चुनाव लड्दा पर्सामा एक नगरपालिका र एक गाउँपालिका जितेको छ । अब आफ्नै चिन्हमा चुनाव लड्ने कि अरु दलसँग मर्ज हुने भन्ने बारे उसले निर्णय गरिनसकेको जनाएको छ ।
संसदमा रहेका साना वामपन्थी दलमध्ये अब नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी बाँकी छन् । राजमो र नेमकिपाले आफ्नै अस्थित्वमा चुनाव लड्न चाहेका छन् भने मालेले कुनै निर्णय गर्न सकेको छैन ।
संसदमा ५ सिट रहेका नेकपा मालेका एक सांसद कांग्रेस र अर्का माओवादीमा प्रवेश गरिसकेका छन् । अधिकांश नेताहरु यसअघि नै एमालेमा प्रवेश गरिसकेकाले सीपी मैनाली संकटमा छन् ।
एमालेको चिह्नमा विलय भएका दलहरु

नेपाल परिवार दल (२ सिट)
नयाँ शक्ति पार्टी नेपाल (१ सिट)
मधेश समता पार्टी (१ सिट)
दलित जनजाति पार्टी (१ सिट)
राजपा विद्रोही (१ सिट)
माओवादीको चिन्हमा बिलय हुने दलहरु

नेकपा संयुक्त (३ सिट)
समाजवादी जनता दल (१ सिट)
जनजागरण पार्टी नेपाल (१ सिट)
फोरम लोकतान्त्रिकमा बिलय भएका दल

जनमुक्ति पार्टी लोकतान्त्रिक (२ सिट)
थरुहट तराई पार्टी नेपाल (१ सिट)
दलित जनमुक्ति पार्टी (१ सिट)
आफ्नै अस्तित्व जोगाउन लाग्ने साना दल

नेपाल मजदूर किसान पार्टी (४ सिट)
राष्ट्रिय जनमोर्चा (४ सिट)
निर्णय गर्न बाँकी साना दल

नेकपा माले (३ सीट)
अखण्ड पार्टी नेपाल (१ सिट)
खम्बुवान राष्ट्रिय मोर्चा (१ सिट)
संघीय थरुहट पार्टी (१ सिट)

आफ्नै हस्ताक्षरको मसी सुक्न नपाउँदै देउवाले तोडे आचारसंहिता



२७ असोज, काठमाडौं । भदौ २६ मा ‘निर्वाचन आयोगले भन्यो- मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरीत’ शीर्षकको समाचार ट्वीट गर्दै कमल थापाले लेखेका थिए, ‘आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाही गर्नु र निर्णय सच्याउनु निर्वाचन आयोगको संवैधानिक दायित्व हो ।’
एक महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहितालाई लत्याएर उनै कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपाबाट पार्टी अध्यक्ष कमल थापासँगै चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । तर, सपथ कार्यक्रम भने तय भइसकेको छैन ।
शुक्रबार शीर्षनेताहरुले निर्वाचन आयोगमा पुगेर आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता जनाएलगतै मन्त्रिपरिषद् विस्तार भएको हो । आयोगमा पुगेर शुक्रबार त्यसरी हस्ताक्षर धस्काउनेमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत थिए ।
देउवाले गरेको मन्त्रिपरिषद विस्तारको विपक्षी एमालेले विरोध गरेको छ भने सत्तारुढ माओवादी केन्द्र छलफलमा जुटेको छ । माओवादीले शनिबार यसबारे धारणा बाहिर ल्याइने बताएको छ ।
माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि कांग्रेस सभपति समेत रहेका प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए । उनले माओवादी मन्त्रीहरुलाई बखास्र्त गर्ने योजनाका साथ कमल थापालाई सरकारमा आउन प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री स्वयंले निर्वाचन आचार संहिताको धज्जी उडाउने काम गरेको भन्दै एमालेले पछिल्लो मन्त्री नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिनुपर्ने माग गरेको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद विस्तार गम्भीर घटना भएकाले यसलाई सामान्य रुपमा लिन नहुने अनलाइनखबरलाई बताए ।
नेम्वाङले भने, ‘आचारसंहितालाई कडाइका साथ पालना गर्ने लिखित प्रतिबद्धता गरेर फर्किएलगतै मन्त्रिपरिषद विस्तार हुनु गम्भीर कुरा हो, आयोगले यसलाई बदर गर्ने आदेश दिनुपर्छ ।’
निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारको निर्णय बदर नगरे आयोगको भूमिका औचित्यहीन हुने र यस्तो आयोगले चुनाव सम्पन्न गराउन नसक्ने चेतावनी समेत एमालेले दिएको छ ।
आयोगले यसअघि दुई राज्यमन्त्री नियुक्ति सच्याउन देउवालाई निर्देशनसमेत दिएको थियो । तर, निर्णय सच्याउनु त परै जाओस्, उल्टै थप मन्त्रीहरु नियुक्त गरेर आयोगलाई चुनौती दिएका छन् ।
निर्वाचन आचारसंहिता विपरीतको नियुक्ति बदर गर्न आदेश दिने अधिकार निर्वाचन आयोगलाई छ । हालैमात्र पर्यटनमन्त्री जितेन्द्र देवले गरेको नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक हटाउने निर्णयलाई आयोगले बदर गरेको थियो ।
यो पनि पढ्नुहोस् 
माओवादी मन्त्रीले राजीनामा देलान् ? भोलि बैठक बस्ने