Thursday, October 12, 2017

खाडी मुलुक जान बाध्य छन् रोल्पाली महिला

२६ असोज, रोल्पा । घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन् ।
विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला दिनमा भने महिलासमेत विदेश जान थालेका छन् । श्रीमान् रोजगारीका लागि विदेशमै भएका, श्रीमान्सँग सम्बन्ध विच्छेद गरेका, घरेलु हिंसाबाट पीडित तथा घरमा पुरुष नभएका महिला रोजगारीका लागि विदेश जाने गरेको बताइएको छ । घरको आर्थिक अवस्था कमजोर भएका तथा रोजगारीको कुनै विकल्प नभएका महिला विदेश जाने गरेका छन् ।
गत वर्ष वैदेशिक रोजगारीमा जानका लागि जिल्लाबाट चार हजार २३६ जनाले राहदानी लिएकामा १७६ जना महिला विदेश गएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी रोजगारीमां जाने मध्ये अधिकांश महिलाले घरेलु कामदारका रुपमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने, बगैँचाको रेखदेख गर्ने जस्ता घर भित्रको काम गर्दै आएका छन् ।
आकर्षक तलबको अभाव, जोखिमपूर्ण काम तथा सुरक्षाको ग्यारेन्टी नहुँदा वर्षेनी दर्जनाैं कामदारको मृत्यु हुने भएका कारण वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या घट्दै गएको भए पनि महिलाको भने आकर्षण बढी रहेको बताइन्छ ।

करेन्ट लागेर एकको मृत्यु

२६ असोज, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा जाँदै गरेको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नंको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागी घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । भुस बोकेको ट्रकमा बुधबार करेन्ट लाग्दा दुईजना घाइते भएका थिए । चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण

२६ असोज, सिरहा । माथिको तस्वीर प्रदेश र संघीय संसदको चुनावका लागि सरकारले मागेको म्यादी प्रहरीमा आदेवन दिन सिरहाको लहानमा जम्मा भएका युवाहरुको भीड हो ।
म्यादी प्रहरीका लागि सरकारले ९८ हजार भर्ना खोलेको छ । त्यसका लागि सिरहाका युवाहरुमा निक्कै आकर्षण देखिएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यलय सिरहाअगाडि बिहानैदेखि युवाहरुको ठूलो भीड थियो । उनीहरु प्रचण्ड गर्मीका बाबजुद बेलुका ६ बजेसम्म पनि फारम दर्ता गराउन लाइनमा बसेका भेटिए ।
जिल्ला प्रहरी कार्यलय सिरहाले म्यादी प्रहरीमा आबेदन दिने युवा/युवतीको चाप थेग्न नसकेपछि चार ठाँउबाट फारम दर्ता गर्ने ब्यबस्था गरेको थियो ।
फारम दर्ता सुरु गरेको पहिलो दिन बुधबार मात्र जिल्ला प्रहरी कार्यलय सिरहाबाट ६९ महिला र ७६४ पुरुष गरी ८३३ जनाले फारम दर्ता गरेका छन् ।
बेरोजगार युवा/युबतीले आकर्षक तलब सबिधा भएकाले र थोरै समय भएपनि देशको सेवा गर्न पाइने भएकोले म्यादी प्रहरीमा जान चाहेको प्रतिक्रिया दिए । म्यादी प्रहरीका लागि सिरहाको लहान, मिर्चैया र गोल बजारबाट पनि फारम बितरण गर्ने व्यवस्था छ भने दर्ता जिल्ला प्रहरी कार्यलय सिरहाले मात्र लिएको छ ।
स्थानीय तहको निर्बाचनमा म्यादी प्रहरीका लागि सिरहामा ६ हजार युवाले आबेदन दिएका थिए । त्यसमा १ हजार ९३२ जना म्यादी प्रहरी स्थानीय तह निर्बाचन सुरक्षाका लागि छनोट भएका थिए ।

भूमिसुधार कार्यालयका प्रमुख घुससहित पक्राउ

२६ असोज, राजविराज । भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार पुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पोखरेललाई पक्राउ गरेको हो । उनले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए ।

उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित

२६ असोज, डडेल्धुरा । उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित बनेका छन् ।
उत्पादन घटेपछि दार्चुलाबाट ओखर ल्याउनुपर्दा मूल्य चर्किएकाले बिक्री घटेपछि ओखर व्यवसायी चिन्तित बनेका हुन ।
प्रदेश नं ७ का पहाडी जिल्ला र तराईका जिल्लासहित देशका अन्य जिल्ला जोड्ने प्रमुख राजमार्ग रहेको डडेल्धुरा बजारका ओखर व्यवसायी ओखर वेचेर वर्षेनी लाखौ रुपैंयाँ आम्दानी गर्ने भएता पनि यसपाली बिक्रीको मात्रा घटेकाले दिनमा चार-पाँच किलो मात्र बिक्री हुने गरेको ओखर व्यवसायी भिम पाण्डेयले दुख पोखे ।
‘डडेल्धुराका किसानले ओखर लगाउनै छोडे र भएका ओखरको पनि उत्पादन शक्तिमा कमि आएकाले दार्चुलाबाट ओखर ल्याउनु पर्छ’ उनले भने पोहोरको पाली तीन सय देखि चार सयसम्म बेच्दै आएको ओखर टाढा बाट ल्याँउदा मूल्य आकासिएर सात-आठ सय पुग्यो अनि यती महङ्गो कसले किन्ने ?’
सिजनमा स्याउले बजारसहित डडेल्धुरा सदरमुकाम बसपार्क क्षेत्रमा रहेका दर्जनौ व्यापारीहरु ओखर बेच्ने गर्छन ।
ओखरलाई पसल अगाडि घाममा सुकाउदै गरेकी अर्की व्यवसायी तारा ऐरले भनिन ‘पहिले डडेल्धुरामै उत्पादीत ओखर बेच्थे तर केही वर्षयता बैतडी, दार्चुलामा उत्पादित ओखर बिक्रिका लागि आयात हुन्छ ।’
डडेल्धुरामा ओखरको व्यापारलाई मूख्य व्यापारका रुपमा लिने गरिन्छ । डडेल्धुराको स्याउले बजारमा पसलै पिच्छे बिक्रिका लागि ओखर राखिएका छन् ।
एकजना व्यपारीले एक सिजनमा एकलाख देखि दुईलाखसम्म कमाउने गरेको स्याउलेका व्यपारी रमेश दियालले बताए ।
गत वर्षसम्म ओखर एककिलोको पाँच सय सम्म पर्ने गथ्र्यो भने यो वर्ष ओखरको माग बढेको र उत्पादनमा कमी आएको कारण सात सय भन्दा माथी रहेको दियालको भनाइ रहेको छ ।
यो राजमार्ग भएर ओहरदोहर गर्ने यात्रुहरु यँहाबाट ओखर तराईका जिल्ला कैलाली कञ्चनुरसहित राजाधानीसम्म कोसेलीको रुपमा लैजाने गर्दछन् ।
ओखर मात्रै नभएर यहाँका व्यापारी मौसम अनुसारको फलफूल बेचेर जिविकोपार्जन गर्दै आईरहेका छन् ।

तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

२६ असोज, मोरङ । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् ।
फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।



पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् । पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ बिक्री गर्दै आएको छ । भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन् ।
चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मन पराउने गरेका छन् । विराटनगर-६ स्थित केशलिया रोडमा स्याउको अधिकृत बिक्रेता नागेन्द्र टेड्रर्सका सञ्चालक नागेन्द्र दास अन्य समयको तुलनामा दशैँ, तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी भएकाले बढी परिमाणमा आयात गरिएको बताउँछन् ।
इटहरी, धरान, विर्तामोड, विराटचौक, उर्लाबारी, इनरुवा, जनकपुरलगायत ठाउँमा दासले नै डिपो खोलेर स्याउ बिक्री गरिरहेका छन् ।

धनगढी एयरपोर्टमा एक्सरे मेशिन

२६, कैलाली, असोज । धनगढी विमानस्थलमा लामो समयदेखि थन्किएर रहेको अत्याधुनिक एक्सरे मेशिनको जडान गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उक्त एक्सरे मेशिनको प्रारम्भ गर्नु भएको छ ।
सात नम्बर प्रदेशको हवाई प्रदेशद्वारको रुपमा रहेको धनगढी विमानस्थलमा एक्सरे मेशिन जडान भएपछि यात्रुहरुको झोला खानतलासीको अन्त्य भएको छ ।
दैनिक ६ वटा उडान हुन थालेपछि व्यस्थ रहेको विमास्थलमा यात्रुहरुको लगेज एक्सरे मेशिनले चेकजाँच गर्न थालेपछि चाप केहि कम हुने विश्वास लिएको धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्लाले बताए ।
हाल धनगढी विमास्थलबाट दैनिक काठमाण्डौ-धनगढी-काठमाण्डौ नेपाल एयरलाईन्सको १, बुद्ध एयरको २, श्री एयरको २ र सोर्य एयरको १ उडान हुने गरेको विमानस्थलले जानकारी दिएको छ ।